काठमाडौं, तेस्रो संस्करणको ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’को टाइटल स्पोनसरमा नेक्सटाइल्स भित्रिएको छ । आगामी पुस ९ देखि १२ गतेसम्म काठमाडौंको भृकटीमण्डपमा हुने फेस्टका लागि नेक्सटाइल्स र आयोजक घर निर्माण फाण्डेसनबीच सम्झौता भएको हो ।
पशुपति सेरामिक्सको उत्पादनका रूपमा रहेको नेक्सटाइल्स निर्माण सामग्रीको क्षेत्रमा आएको ब्रान्ड हो । कम्पनीले आधुनिक डिजाइन, प्रिमियम फिनिसिङ र उच्च गुणस्तरमा आधारित टायल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । कम्पनीले नेक्सटाइल्स ब्रान्डअन्तर्गत शतप्रतिशत भिट्रिफाइड टायलको सिरिज सार्वजनिक गर्ने तयारीसमेत गरेको छ । आयोजकका अनुसार यस वर्षको फेस्टमा विगतको भन्दा फरक अनुभव दिने उद्देश्यले भौतिक प्रदर्शनीसँगै ‘डिजिटल फेस्ट’को अवधारणालाई समेत अघि बढाइएको छ ।
डिजिटल फेस्टका लागि भृकुटीमण्डपमा छुट्टै मल्टिपर्पोज स्टुडियो निर्माण गरिनेछ । उक्त स्टुडियोमार्फत सहभागी ब्रान्ड, कम्पनी तथा संस्थाले आफ्ना उत्पादन र सेवासम्बन्धी जानकारी तथा विज्ञापन प्रस्तुत गर्न सक्नेछन् । फेस्टका सामग्री राष्ट्रिय टेलिभिजन तथा आयोजकका सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइने आयोजकले जनाएको छ । डिजिटल माध्यमको प्रयोग गरी फेस्टलाई काठमाडौंमा हुने भौतिक प्रदर्शनीमा मात्र सीमित नराखी देशभरका दर्शक तथा अन्तर्राष्ट्रिय दर्शकसम्म पुर्याउने लक्ष्य राखिएको छ ।