बगदाद, बगदादको बारम्बार अनुरोधपछि तेहरानले केही इराकी तेल ट्यांकरहरूलाई रणनीतिक हर्मुज जलमार्ग पार गर्न अनुमति दिएको इरानी मिडियाले शनिबार जानकारी गराएका छन् । ‘संयुक्त राज्य अमेरिकाका शत्रुतापूर्ण कार्यहरूका कारण जलमार्गमा सिर्जना भएको सबैभन्दा कडा सैन्य उपाय र असुरक्षाको सामना गर्दागर्दै पनि तेहरानले विगत छ महिनामा केही इराकी तेल ट्यांकरहरूलाई हर्मुज जलमार्ग पार गर्न अनुमति दिएको छ’, इरानी समाचार संस्था इर्नाले जनाएको छ ।
रिपोर्टअनुसार इराकले आफ्ना तेल ट्यांकरहरूको आवागमनका लागि विभिन्न माध्यमबाट इरानलाई अनुरोध गरेको थयो । यसका लागि इरानी सभामुख तथा अमेरिकासँगको वार्ताका प्रमुख वार्ताकार मोहम्मद बागेर गालिबाफको इराक भ्रमणका क्रममा समेत अनुरोध गरिएको थियो । मध्यपूर्वमा फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि इरानले महत्वपूर्ण जलमार्ग होर्मुजमाथि नियन्त्रण दाबी गर्दै आएको छ । यसले जलमार्ग प्रयोग गर्नुअघि जहाजहरूलाई अनुमति लिन र पारवहन शुल्क तिर्न आवश्यक बनाउँछ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्टनको जलमार्ग माथि ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गरेका छन् । हर्मुजबाट युद्धअघि विश्वको करिब पाँचभागको एक भाग तेल र ग्यास (एलएनजी) निर्यात हुनेगरेको थियो । उहाँले यसलाई ‘अमेरिकी क्षेत्र’ को रूपमा वर्णन गरेका छन् । ‘विगत छ महिनाको अनुभवले देखाएको छ कि इराकसँग आफ्नो अधिकांश कच्चा तेल निर्यात गर्न हर्मुज जलमार्ग बाहेक कुनै विकल्प छैन’, इर्नाले आफ्नो समाचारमा उल्लेख गरेको छ । यसले थपेको छ, ‘इराकी अधिकारीहरूले इरानी अधिकारीहरूसँग आफ्ना ट्यांकरहरूका लागि थप अनुमति दिन लगातार अनुरोध गरिरहेका छन् ।’
इरान र ओमान हमुर्ज हुँदै नयाँ मार्ग स्थापना गर्न वार्तामा छन्, जसले खाडीको प्रवेशद्वार नियन्त्रण गर्छ र उनीहरूका दुई देशलाई छुट्याउँछ, तर वार्ता अहिलेसम्म टुङ्गिएको छैन । तर तेहरानले भने वार्ताले नयाँ मार्ग सिर्जना गरे पनि अमेरिकाले इरानका व्यापक मागहरू पूरा नगरेसम्म त्यो मात्रैले जलमार्ग खुला नहुने जनाएको एएफपीले उल्लेख गरेको छ ।