काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१२ घर भएका ३७ वर्षीय नविन लामा र काठमाडौं महानगरपालिका–३२ बस्ने सल्यान शारदा नगरपालिका–२ घर भएका ५० वर्षीय रमेश रेउले रहेका छन् ।
पक्राउमध्ये नविनले मलेसिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १४ लाख रूपैयाँ र रमेशले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नविनलाई काठमाडौं महानगरपालिका–२६ बाट र रमेशलाई काठमाडौं महानगरपालिका–२९ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।