काठमाडौ, नेपाल पर्वतारोहण संघ (एनएमए)लाई जापानी राजदूतावासले ‘एम्बासडर्स अवार्ड’ प्रदान गरेको छ । नेपाल र जापानबीचको पर्वतारोहण तथा मैत्रीपूर्ण सम्बन्ध विस्तारमा एनएमएले पुर्याएको योगदानको कदर गर्दै नेपालका लागि जापानी राजदूत माएदा तोरुले संघका अध्यक्ष फुर गेल्जे शेर्पालाई उक्त सम्मान प्रदान गरेका हुन् ।
मनास्लु हिमालको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा एनएमएले आयोजना गरेको ‘मनास्लु प्लेटिनम जुब्ली’ कार्यक्रमको सफलतामा संघले खेलेको भूमिकालाई मूल्यांकन गर्दै जापानी दूतावासले अवार्ड प्रदान गरेको हो । तर, यो सम्मानलाई नेपाल–जापानबीचको कूटनीतिक सम्बन्धको एउटा उपलब्धिका रूपमा मात्र नभई नेपालको पर्वतारोहण अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रवर्द्धन गर्ने अवसरका रूपमा पनि हेरिएको पर्वतीय पर्यटनका जानकार तथा नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङ छिरिङ शेर्पाको भनाइ छ ।
उनका अनुसार यस्तो अन्तर्राष्ट्रिय सम्मानले नेपालको पर्वतारोहणको विश्वसनीयता र ब्रान्ड मूल्य बढाउनुका साथै विदेशी आरोही तथा पर्यटक आकर्षित गर्नसमेत सहयोग पुग्नेछ । रूयसलाई हामीले कूटनीतिक सम्मानमा मात्र सीमित राख्नु हुँदैन । जापानसँगको ऐतिहासिक पर्वतीय सम्बन्धलाई पर्यटन प्रवर्द्धन, आरोही आकर्षण, लगानी र स्थानीय अर्थतन्त्र विस्तारसँग जोड्न सक्नुपर्छ!, शेर्पाले भने ।
नेपालको पर्वतारोहण क्षेत्र विदेशी पर्यटक आकर्षित गर्ने प्रमुख माध्यमसँगै मुलुकमा विदेशी मुद्रा भित्र्याउने महत्वपूर्ण पर्यटन उत्पादन हो । हिमाल आरोहणका लागि आउने विदेशी आरोहीले तिर्ने आरोहण दस्तुरदेखि लिएर अनुमति शुल्क, स्थानीय गाइड तथा भरिया, होटल, यातायात, खाना, उपकरण, बीमा, उद्धार तथा अन्य पर्यटन सेवासम्मको खर्चले पर्वतीय अर्थतन्त्रको ठूलो शृङ्खला निर्माण गरेको छ । त्यसैले अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्वतारोहणको ब्रान्ड विस्तार हुनु प्रत्यक्ष रूपमा पर्यटन आम्दानी र स्थानीय रोजगारीसँग जोडिने विषय भएको किर्तीमानी सगरमाथा आरोही स्पीडकाजी शेर्पाले बताए ।
मनास्लुबाट फैलिएको नेपाल–जापान आर्थिक सम्बन्ध
मनास्लु हिमाल नेपाल–जापान पर्वतीय सम्बन्धको महत्वपूर्ण प्रतीक हो । सन् १९५६ मे ९ मा जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्याल्जेन नोर्बु शेर्पाले मनास्लुको पहिलो सफल आरोहण गरेका थिए । विश्वको आठौँ अग्लो मनास्लुको उचाइ आठ हजार १६३ मिटर छ ।
मनास्लुको पहिलो आरोहणसँग जोडिएको जापानी सम्बन्धले सात दशकको यात्रा पूरा गरिसकेको छ । यस अवधिमा जापानी आरोही, पर्यटक, पर्वतारोही संस्था तथा पर्यटन व्यवसायीका लागि नेपाल महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित भएको छ । यही ऐतिहासिक सम्बन्धलाई पर्यटन र पर्वतारोहणका माध्यमबाट थप आर्थिक गतिविधिमा रूपान्तरण गर्न सकिने सम्भावना अहिले पनि उत्तिकै बलियो रहेको पर्यटन क्षेत्रका जानकारहरूको बुझाइ छ ।
नेपालले जापानी पर्यटकलाई केवल घुम्न आउने पर्यटकका रूपमा मात्र नभई पर्वतारोहण, पदयात्रा, साहसिक पर्यटन, सांस्कृतिक पर्यटन र प्रकृतिमा आधारित उच्च मूल्यका पर्यटन उत्पादनका ग्राहकका रूपमा विकास गर्न सकेमा त्यसबाट पर्यटन आम्दानी बढाउन सकिने सम्भावना छ ।
विशेषगरी मनास्लु क्षेत्रको अन्तर्राष्ट्रिय प्रचारसँगै जापानलगायत विकसित मुलुकबाट उच्च खर्च गर्ने पर्यटक तथा आरोही आकर्षित गर्न सकिएमा त्यसको लाभ स्थानीय होटल, होमस्टे, यातायात व्यवसाय, पर्वतीय गाइड, भरिया, आरोहण सामग्री बिक्री तथा भाडा, सञ्चार, उद्धार सेवा र अन्य साना तथा मझौला व्यवसायमा पुग्ने सोलुखुम्बु नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाको भनाइ छ ।
आरोहण शुल्कदेखि स्थानीय अर्थतन्त्रसम्म
नेपालमा पर्वतारोहण गतिविधिले सरकारलाई प्रत्यक्ष राजस्व उपलब्ध गराउनुका साथै स्थानीय अर्थतन्त्रलाई अप्रत्यक्ष रूपमा चलायमान बनाउँदै आएको छ । विदेशी आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएपछि त्यससँग जोडिएका अनेकौँ आर्थिक गतिविधि सुरु हुन्छन् ।
आरोहण दलका लागि गाइड, उच्च हिमाली क्षेत्रमा काम गर्ने कामदार, भरिया, खाना पकाउने जनशक्ति, स्थानीय यातायात, होटल तथा लज, आरोहण उपकरण, सञ्चार तथा उद्धार सेवाको माग बढ्छ । एउटै आरोहण दलले गर्ने खर्च विभिन्न तह हुँदै स्थानीय समुदायसम्म पुग्ने भएकाले पर्वतारोहणलाई ‘मल्टिप्लायर इफेक्ट’ सिर्जना गर्ने पर्यटन क्षेत्रका रूपमा पनि हेर्न सकिन्छ ।
मनास्लु क्षेत्रमा आरोहण गतिविधि बढ्दा त्यसको प्रत्यक्ष लाभ गोरखा जिल्लाका स्थानीय बासिन्दाले पाउनेछन् । पर्यटकको आगमन बढेसँगै स्थानीय उत्पादनको बजार विस्तार, होटल तथा होमस्टे सञ्चालन, कृषि उत्पादनको बिक्री, स्थानीय यातायात तथा पर्यटन सेवाको माग बढ्न सक्छ । यस अर्थमा मनास्लु केवल एउटा हिमाल नभई त्यस वरपरको ठूलो आर्थिक प्रणालीको केन्द्र बन्न सक्ने सम्भावना बोकेको पर्यटन उत्पादन हो ।
एउटा आरोहीसँगै आउने आर्थिक गतिविधि
विदेशी आरोहीले नेपाल प्रवेश गरेपछि विमानस्थलबाटै खर्च सुरु गर्छ । काठमाडौँमा होटल, रेस्टुरेन्ट, यातायात, आरोहण सामग्री, बीमा तथा अन्य सेवामा खर्च हुन्छ । त्यसपछि आरोहण क्षेत्रसम्म पुग्दा आन्तरिक हवाई तथा सडक यातायात, होटल तथा लज, गाइड र भरियासहित स्थानीय सेवामा खर्च हुन्छ ।
हिमालमा पुगेपछि आरोहण दलका लागि खाद्यान्न, इन्धन, आरोहण सामग्री, सञ्चार उपकरण, सुरक्षा तथा उद्धारलगायतका सेवाको आवश्यकता पर्छ । यसरी एउटा आरोहीले गरेको खर्च एउटै व्यवसायमा सीमित नभई पर्यटन क्षेत्रका धेरै व्यवसाय हुँदै स्थानीय समुदायसम्म पुग्छ । यही कारण पर्वतारोहणलाई केवल साहसिक खेल वा पर्यटन गतिविधिका रूपमा मात्र नभई आर्थिक गतिविधिको महत्वपूर्ण स्रोतका रूपमा लिनुपर्ने आवश्यकता छ ।
जापानी बजारमा नेपालको पर्वतारोहण ब्रान्ड
जापान नेपालको पुरानो पर्यटन बजारमध्ये एक हो । जापानी नागरिकमा हिमाल, प्रकृति, संस्कृति र साहसिक यात्राप्रति रहेको रुचिलाई नेपालको पर्वतारोहण उत्पादनसँग जोड्न सकेमा बजार विस्तार गर्न सकिने सम्भावना छ ।
‘एम्बासडर्स अवार्ड’ले यही सम्बन्धलाई पुनः अन्तर्राष्ट्रिय रूपमा चर्चामा ल्याएको छ । जापानी राजदूतावासबाट नेपालको पर्वतारोहण संस्थालाई दिइएको सम्मानले नेपाल–जापानबीचको पर्वतीय सहकार्यलाई थप संस्थागत गर्न सक्ने अवसरसमेत सिर्जना गरेको छ ।नेपालले जापानी बजारलाई लक्षित गरेर मनास्लु, सगरमाथा, अन्नपूर्ण, लाङटाङ तथा अन्य हिमाली क्षेत्रका आरोहण र पदयात्रा उत्पादनको संयुक्त प्रवद्र्धन गर्न सकेमा पर्यटक आगमनसँगै पर्यटन खर्च पनि बढाउन सकिने सम्भावना छ ।
विशेषगरी लामो समय नेपालमा बस्ने, उच्चस्तरीय सेवा प्रयोग गर्ने र पर्वतारोहणमा खर्च गर्न तयार पर्यटकलाई आकर्षित गर्न सकिएमा पर्यटनबाट प्राप्त हुने प्रतिपर्यटक आम्दानी वृद्धि गर्न मद्दत पुग्नेछ ।
पर्वतारोहणबाट रोजगारी सिर्जना
पर्वतारोहणको सबैभन्दा महत्वपूर्ण आर्थिक प्रभावमध्ये रोजगारी सिर्जना पनि हो । आरोहण तथा पदयात्रा गतिविधि बढ्दा स्थानीय युवाले गाइड, भरिया, कुक, होटल कर्मचारी, चालक तथा अन्य पर्यटन सेवामा रोजगारी पाउने अवसर बढ्छ ।
हिमाली क्षेत्रमा रोजगारीका अवसर सीमित हुने भएकाले पर्वतारोहणले स्थानीय युवालाई गाउँमै आम्दानीको अवसर उपलब्ध गराउन सक्छ । यसले वैदेशिक रोजगारीमा जाने दबाब घटाउनुका साथै स्थानीय अर्थतन्त्रमा पैसा परिचालन गर्ने आधार तयार गर्छ ।
यसका लागि भने पर्वतारोहणबाट सिर्जना हुने रोजगारीलाई अस्थायी र न्यून आयको काममा सीमित नगरी दक्ष जनशक्ति उत्पादन, पर्वतीय गाइड तालिम, उद्धार तथा सुरक्षा तालिम, भाषा प्रशिक्षण र पर्यटन उद्यमशीलतासँग जोड्नुपर्ने आवश्यकता छ ।
स्थानीय उत्पादनको बजार विस्तार
पर्वतीय पर्यटन विस्तारको अर्को आर्थिक प्रभाव स्थानीय उत्पादनको बजार विस्तार हो । पर्यटकको संख्या बढ्दा स्थानीय कृषि उत्पादन, दुग्धजन्य पदार्थ, हस्तकला, परम्परागत सामग्री, स्थानीय खाद्य परिकार तथा अन्य उत्पादनको माग बढ्न सक्छ ।
मनास्लु क्षेत्रमा आउने पर्यटकले स्थानीय उत्पादन उपभोग गर्ने वातावरण बनाउन सकेमा पर्यटनबाट प्राप्त आम्दानीको ठूलो हिस्सा स्थानीय समुदायमै राख्न सकिन्छ । यसका लागि स्थानीय उत्पादनलाई ब्रान्डिङ, प्याकेजिङ र बजार व्यवस्थापनसँग जोड्नु आवश्यक हुन्छ ।
पर्वतारोहण र पदयात्राका लागि आउने पर्यटकले स्थानीय उत्पादन खरिद गर्ने प्रणाली विकास गर्न सकिएमा पर्यटनबाट हुने आर्थिक लाभको दायरा अझ फराकिलो बन्न सक्छ ।
मनास्लुको ‘प्लेटिनम जुब्ली’ र पर्यटन प्रवर्द्धन
मनास्लु आरोहणको ७० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको ‘मनास्लु प्लेटिनम जुब्ली’ले ऐतिहासिक घटनाको स्मरण मात्र गरेको छैन, यसले मनास्लुलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा पुनः प्रस्तुत गर्ने अवसरसमेत दिएको छ ।
अध्यक्ष फुर गेल्जे शेर्पाका अनुसार मनास्लु हिमालको पहिलो आरोहणको ७० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रम सफल बनाउन नेपाल पर्वतारोहण संघले खेलेको भूमिकाको कदरस्वरूप जापानी राजदूतबाट ‘एम्बासडर्स अवार्ड’ प्राप्त हुनु संघका लागि गौरवको विषय हो ।
“मनास्लु हिमालको पहिलो आरोहणको ७० वर्ष पूरा भएको अवसरमा आयोजित ‘मनास्लु प्लेटिनम जुब्ली’ कार्यक्रम सफल बनाउन नेपाल पर्वतारोहण संघले खेलेको भूमिकाको कदरस्वरूप जापानी राजदूतबाट ‘एम्बासडर्स अवार्ड’ प्राप्त हुनु हाम्रा लागि गौरवको विषय हो,” अध्यक्ष शेर्पाले भने, “यो सम्मानले नेपालको पर्वतारोहण क्षेत्रको प्रवद्र्धनमा थप उत्साह र जिम्मेवारी थपेको छ ।” उनले अवार्डले नेपालको पर्वतारोहण क्षेत्रको विकास, प्रवद्र्धन र नेपाल–जापानबीचको पर्वतीय सम्बन्धलाई थप मजबुत बनाउन प्रेरणा मिलेको बताए ।
सम्मानसँगै बढेको जिम्मेवारी
नेपाल पर्वतारोहण संघलाई प्रदान गरिएको ‘एम्बासडर्स अवार्ड’ नेपाल–जापान पर्वतीय सम्बन्धको सम्मान मात्र नभई नेपालको पर्वतारोहण क्षेत्रको अन्तर्राष्ट्रिय सम्भावनाको पहिचान पनि हो । मनास्लुको पहिलो आरोहणमा जापानी नागरिकको ऐतिहासिक योगदानदेखि आजसम्म आइपुग्दा नेपाल र जापानबीचको पर्वतीय सम्बन्धले सात दशकको यात्रा पूरा गरिसकेको छ । अब यो सम्बन्धलाई पर्यटन, लगानी, प्रविधि, पर्वतीय सुरक्षा, उद्धार, वातावरण संरक्षण र स्थानीय आर्थिक विकाससँग जोड्न सकिने अवसर देखिएको छ । संघका अध्यक्ष फुर गेल्जे शेर्पाले अवार्ड ग्रहणपछि यसले नेपालको पर्वतारोहण क्षेत्रको विकास र प्रवद्र्धनमा थप प्रेरणा तथा जिम्मेवारी थपेको बताए ।
उनले भने “नेपालका लागि चुनौती अब यस्ता अन्तर्राष्ट्रिय सम्मानलाई औपचारिक उपलब्धिमा सीमित नगरी त्यसबाट सिर्जना हुने अवसरलाई आर्थिक परिणाममा रूपान्तरण गर्नु हो ।” जापानी बजारमा नेपालको पर्वतारोहण ब्रान्ड विस्तार, मनास्लु क्षेत्रको पर्यटन पूर्वाधार विकास, स्थानीय जनशक्तिको क्षमता अभिवृद्धि र निजी क्षेत्रको लगानी विस्तार गर्न सकेमा ‘एम्बासडर्स अवार्ड’ नेपाल–जापान पर्वतीय सम्बन्धको अर्को आर्थिक अध्यायको आधार बन्न सक्छ ।
मनास्लु विश्वको आठौँ अग्लो हिमाल हो । आठ हजार १६३ मिटर उचाइको यो हिमालले नेपालको पर्वतारोहण इतिहासमा मात्र होइन, नेपालको पर्यटन अर्थतन्त्रमा समेत थप ठूलो सम्भावना बोकेको छ । सन् १९५६ मा भएको पहिलो सफल आरोहणको ७० वर्षपछि प्राप्त ‘एम्बासडर्स अवार्ड’ले त्यही सम्भावनालाई पुनः अन्तर्राष्ट्रिय रूपमा उजागर गरेको छ ।