काठमाडौ, नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको महिला उद्यमी विकास समितिले महिला उद्यमीहरूका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आधारभूत तालिम आयोजना गरेको छ ।
महिला उद्यमीहरूलाई पछिल्लो प्रविधिसँग परिचित गराउँदै व्यवसाय सञ्चालन, व्यवस्थापन, बजारीकरण तथा व्यवसाय विस्तारमा एआईको प्रभावकारी प्रयोग गर्न सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । भर्चुअल माध्यमबाट आयोजित तालिममा देशभरबाट ९० भन्दा बढी महिला उद्यमीको सहभागी भएका थिए । भूगोलपार्क एआई सोलुसन्सको सहकार्यमा सम्पन्न तालिमका क्रममा सहभागीहरूलाई एआईका आधारभूत अवधारणा, व्यवसायमा एआईको प्रयोग, सामग्री निर्माण, डिजिटल बजारीकरण, व्यवसायिक सूचना संकलन तथा अन्य व्यावहारिक क्षेत्रमा एआईको उपयोगबारे जानकारी र अभ्यास गराइएको थियो । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले एआईलगायत नवीन प्रविधिको प्रयोगले उद्यमशीलता र व्यवसाय सञ्चालनमा प्रभावकारिता तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने बताए । समयअनुकूल नयाँ प्रविधि, ज्ञान र सीप आत्मसात् गर्दै महिला उद्यमीहरूले आफूलाई थप सक्षम र प्रतिस्पर्धी बनाउनुपर्नेमा उनले जोड दिए ।
महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले महिला उद्यमीहरूको क्षमता अभिवृद्धि तथा व्यवसायलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए । तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न आग्रह गर्दै उनले महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग पु¥याउन काठमाडौंसहित सातै प्रदेशमा क्रमिक रूपमा ‘कोसेली घर’ स्थापना गर्दै लैजाने बताए । महिला उद्यमी विकास समितिका सभापति सुनिता न्हेम्हाफुकीले उद्यम व्यवसाय सञ्चालनको प्रारम्भिक चरणदेखि उत्पादनको गुणस्तर, बजारीकरण र व्यवसाय विस्तारसम्म प्रविधिको प्रयोगमार्फत महिला उद्यमीहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताइन् । आगामी दिनमा पनि ज्ञान, सीप र प्रविधिमा आधारित कार्यक्रमलाई निरन्तरता दिइने महिला उद्यमी विकास समितिले जनाएको छ ।