काठमाडौं, रसुवाका बाढीपीडितका प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार एकैदिन ६० करोड २ लाख रुपैयाँ संकलन भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले उक्त रकम सरकारलाई उपलब्ध गराएका हुन् । कोषका लागि अर्थ मन्त्रालयमार्फत भौतिक रूपमा सहयोग रकम संकलन गर्न सरकारले भदौ ११ गतेदेखि सुरु गरेको थियो । त्यसयताकै सबैभन्दा धेरै रकम सोमबार अर्थ मन्त्रालयमार्फत प्राप्त भएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र निमित्त अर्थसचिव उत्तर खत्रीमार्फत दाताहरूले हस्तान्तरण गरेको चेकको कुल रकम ६० करोड २ लाख २० हजार १०६ रुपैयाँ ६२ पैसा रहेको छ । भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ र २ लाख अमेरिकी डलर दाताहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत चेक हस्तान्तरण गरेर उपलब्ध गराएका थिए ।
मन्त्रालयको तथ्यांकअनुसार चार दिनमा अर्थमन्त्रीमार्फत कुल १ अर्ब ३० करोड ७५ लाख ८ हजार ६६१ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा भएको छ । त्यसमध्ये ८० हजार रुपैयाँ नगद थियो भने बाँकी सबै ‘एकाउन्ट पेयी’ चेक रहेका छन् । यस्तै, दुई लाख अमेरिकी डलरको चेक पनि मन्त्रालयमा प्राप्त भएको छ ।