काठमाडौं, एनआईसी एसिया बैंकले आफ्नो डिजिटल बैंकिङ्ग सेवालाई अझ विस्तार र सुदृढ बनाउँदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को नेपालपे कार्डबाट हुने भुक्तानी प्राप्ति गर्ने सेवा सुरु गरेको छ ।
यससँगै अब बैंकले आफ्ना ग्राहकहरूका लागि नेपाल पे कार्डमार्फत भुक्तानी प्राप्ति गर्न सहज हुनेछ । साथै, डिस्कभर नेटवर्कअन्तर्गत रुपैयाँ पे कार्डसहित अन्य अन्तर्राष्ट्रिय कार्डहरू पनि अब बैंकको एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ ।
नेपालपे कार्ड नेसनल पेमेन्ट स्विचअन्तर्गत सञ्चालनमा आएको नेसनल कार्ड स्कीम हो, जुन नेपालमा नेसनल पेमेन्ट स्विचमार्फत र अन्तर्राष्ट्रिय भुक्तानी पार्टनर डिस्कभर नेटवर्कमार्फत विश्वव्यापी रुपमा प्रयोग गर्न सकिन्छ । नेसनल पेमेन्ट स्विचअन्तर्गत नेपाल पे कार्ड सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपाल पे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ ।
साथै, अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभर पार्टनर कार्डहरू पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ । बैंकको यस पहलले ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू आबद्ध भइसकेको नेसनल कार्डको प्रवद्र्धन गर्नुका साथै डिजिटल रूपान्तरणमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।