काठमाडौं । सुनसरीको देवानगञ्ज, सिरहालगायत पूर्वी तराई–मधेशका जिल्लामा भएको हिंसात्मक घटनापछि प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा भिडियो सम्बोधन गर्दै शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबैलाई आग्रह गरेका छन्। शुक्रबार सार्वजनिक सम्बोधनमा उनले शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने तथा सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने चेतावनी दिएका हुन्।
प्रधानमन्त्री शाहले देवानगञ्ज घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने स्पष्ट निर्देशन दिइएको पनि उनले बताए।
उनले घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको जानकारी दिँदै, दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्रीका अनुसार घटनापछि सुरक्षा निकायहरू निरन्तर परिचालित छन् भने सर्वदलीय बैठक, स्थानीय जनप्रतिनिधि, धार्मिक अगुवा, नागरिक समाज तथा समुदायका प्रतिनिधिसँग संवाद भइरहेको छ। गृहमन्त्री स्वयं प्रभावित क्षेत्रमा पुगिसकेको र राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आवश्यक निर्णयसमेत गरिसकेको उनले जानकारी दिए।
सम्बोधनमा उनले सामाजिक सञ्जालमार्फत फैलाइने अफवाह, घृणात्मक अभिव्यक्ति र अपुष्ट सूचनाले परिस्थिति झन् बिगार्न सक्ने भन्दै त्यस्ता गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गरे। सरकारी निकायबाट जारी आधिकारिक सूचना मात्र विश्वास गर्न उनले अनुरोध गरेका छन्।
प्रधानमन्त्री शाहले नेपालको संविधानले सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने अधिकार दिएको स्मरण गराउँदै कुनै एक स्थानको घटनालाई आधार बनाएर सम्पूर्ण समुदायलाई दोषारोपण गर्नु वा प्रतिशोधको भावना फैलाउनु कुनै पनि हिसाबले स्वीकार्य नहुने स्पष्ट पारे।
उनले भने, "धर्मले प्रेम, करुणा, दया र शान्तिको शिक्षा दिन्छ। कुनै पनि धर्मले हिंसा, घृणा वा विभाजन सिकाउँदैन।"सम्बोधनको अन्त्यमा प्रधानमन्त्रीले सम्पूर्ण नागरिक, राजनीतिक दल, धार्मिक समुदाय, सञ्चारमाध्यम र नागरिक समाजलाई धैर्यता, संयमता र जिम्मेवारीका साथ अघि बढ्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति कायम राख्न सरकारको तर्फबाट हार्दिक अपिल गरेका छन्।