सिरहा, सिरहामा जारी प्रदर्शन बिहीबार बिहानदेखि थप उग्र बन्दै गएपछि जिल्लाको सुरक्षा अवस्था तनावग्रस्त बनेको छ।प्रदर्शनका क्रममा विभिन्न स्थानमा आगजनी र तोडफोडका घटना भएका छन्। बढ्दो तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
यसैबीच, गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा प्रदर्शनकारीले आगजनी गरेका छन्। आगलागीबाट मलमा क्षतिको विवरण भने अझै सार्वजनिक भएको छैन।घटनापछि प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ। सुरक्षा व्यवस्था थप कडा पारिएको छ भने थप अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यू आदेशको पालना गर्न तथा अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ। आगजनी र तोडफोडमा संलग्न व्यक्तिको पहिचान तथा घटनाको थप विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।