काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएको चार महिनापछि पहिलोपटक राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।सुनसरी घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाका बीच बिहीबार राष्ट्रका नाममा सम्बोधन गरेका प्रधानमन्त्री शाह सोही सम्बोधनलगत्तै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न शीतल निवास पुगेका हुन्।
भेटमा तराई–मधेशमा विकसित पछिल्लो सुरक्षा अवस्था, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा समसामयिक राष्ट्रिय विषयमा छलफल भएको अनुमान गरिएको छ। यद्यपि भेटबारे राष्ट्रपतिको कार्यालय वा प्रधानमन्त्री कार्यालयले औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन।
यसअघि बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेलले पनि देशमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयम अपनाउन अपिल गरेका थिए।
प्रधानमन्त्री नियुक्त भएको चार महिना बितिसक्दा पनि बालेन्द्र शाहले राष्ट्रपतिसँग शिष्टाचार भेट नगरेको विषय सार्वजनिक रूपमा चर्चा र आलोचनाको विषय बनेको थियो। पछिल्लो भेटलाई भने त्यसको अन्त्यका रूपमा समेत हेरिएको छ। सुनसरी घटनापछि तराई–मधेशका केही जिल्लामा देखिएको तनाव, प्रदर्शन र सुरक्षा चुनौतीका बीच प्रधानमन्त्री र राष्ट्रपतिबीच भएको यो भेटलाई राजनीतिक तथा सुरक्षा दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।