सिरहाको गोलबजार सहरी क्षेत्रमा बिहीबार भएको झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु भएको छ। अवस्था तनावपूर्ण बन्दै गएपछि स्थानीय प्रशासनले गोलबजार र लहान नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।झडपका क्रममा गम्भीर घाइते भएका औरही गाउँपालिका–२ तुलसीपुरका १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको हो।
बिहीबार बिहानदेखि नै गोलबजार क्षेत्रमा प्रदर्शन र झडप चर्किएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सिरहाले दिउँसो २ बजेदेखि लागू हुने गरी गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।यसैबीच, लहान नगरपालिकामा पनि प्रदर्शन र हुलदङ्गा बढ्दै शान्ति–सुरक्षामा चुनौती उत्पन्न भएपछि प्रशासनले अपराह्न ४ बजेदेखि त्यहाँ पनि अनिश्चितकालीन कर्फ्यु लागू गरेको जनाएको छ।
प्रशासनका अनुसार लहानस्थित पूर्व–पश्चिम राजमार्गको पूर्वमा बलान खोला, पश्चिममा सरस्वती खोला तथा राजमार्गको उत्तर–दक्षिण ५०० मिटर क्षेत्रभित्र कर्फ्यु आदेश लागू गरिएको छ।कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा कुनै पनि प्रकारको आवतजावत, भेला, प्रदर्शन, सभा वा जुलुस गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै अफवाह फैलाउने वा कानूनविपरीत गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ। साथै, शान्ति–सुरक्षा कायम गर्न सुरक्षा निकायलाई उच्च सतर्कतामा परिचालन गरिएको जनाएको छ।