काठमाडौं, एनएमबी बैंकले ४४० मेगावाट क्षमताको कालीकोट जिल्लामा अवस्थित तिला १ जलविद्युत् आयोजनाको अगुवा लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । कालीकोट जिल्लाको तिला खोलामा एससी पावर कम्पनीद्वारा निर्माण गर्न लागिएको यो आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब चार करोड रुपैयाँ रहेको छ । कुल लागतमध्ये बैंकहरुको ऋण लगानी ४४ अर्ब ५५ करोड रुपैयाँ रहने छ ।
यो वित्तीय व्यवस्थापनमा एनएमबी बैंक अगुवा बैंकको रुपमा रहेको छ भने ग्लोबल आईएमई बैक, हिमालयन बैंक तथा प्रभु बैंक सह–अगुवा बैंक रहनुका साथै, अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाहरु सहभागीको रुपमा रहने छन् । एससी पावर कम्पनीको मुख्य नेतृत्व सुसन कर्माचार्य तथा उनको समूहले गरेको छ । तिला १ जलविद्युत् आयोजनाको उत्पादन अनुमतिपत्रअनुसार कुल क्षमता ४४० मेगावाट रहेको छ र पीपीएअनुसार आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने मिति विसं. २०८७ पुस १५ (३१ डिसेम्बर २०३०) रहेको छ ।
एनएमबी बैंकको तर्फबाट सहायक महाप्रबन्धक दिनेश दुलाल तथा कम्पनीको तर्फबाट अध्यक्ष सुसन कर्माचार्यले सम्झौतामा हस्ताक्षर गरेका हुन् । निजी क्षेत्रको लगानी र नेतृत्वमा अघि बढाइएको यो जलविद्युत् आयोजना जडान क्षमताका हिसाबले अहिलेसमको ठूलो आयोजना हो ।
आयोजना निर्माण पश्चात् पहिलो वर्ष करिब ११ अर्ब चार करोड रुपैंयाँ आम्दानी हुने अनुमान गरिएको छ । एनएमबी बैंकले नेपाल राष्ट्र बैंकद्वारा जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै लगानीका वातावरणीय तथा सामाजिक पक्षहरुको मूल्यांकनका आधारमा जिम्मेवार तथा दिगो लगानीलाई प्राथमिकता दिँदै आएको छ ।
साथै, अन्तराष्ट्रिय असल अभ्यासहरुको अवलम्बन गर्ने क्रममा यस आयोजना हाइड्रोपावर सस्टेनेबिलीटी अलायन्स (एचएसए)द्वारा विकसित प्रारम्भिक वातावरणीय, सामाजिक तथा सुशासन परीक्षण उपकरण प्रयोग गरी आयोजनाका वातावरणीय तथा सामाजिक पक्षहरुको अध्ययन तथा मूल्याङ्कन गरिएको थियो । एनएमबी बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत् आयोजनाहरुमा लगानी गरिसकेको छ । बैंकले हाल देशभरी एक सय ९७ वटा शाखाहरु, एक सय ७६ एटीएमहरु र नौवटा एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।