काठमाडौं, हिमालयन उद्धार संघले रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । संघले गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलाका श्रद्धालु भक्तजनको स्वास्थ्यलाई ध्यानमा राखेर शिविर संचालन गर्न लागेको हो ।
संघले राजधानीमा पत्रकार सम्मेलन गरी गोसाइँकुण्ड जाने भक्तजनको स्वास्थ्यलाई ध्यानमा राखेर पाँच चिकित्सकसहित सातजनाको टोली शिविर संचालनको लागी गोसाइँकुण्ड प्रस्थान गरेको जानकारी दिएको छ । डा. सिभानी रायमाझीको नेतृत्वमा डा. टपेन्द्र ढकाल, डा. अविनाशकुमार शाह, डा. उदय पाण्डे, डा. प्रज्ज्वल लुइँटेल, चिकित्सा शिक्षाका विद्यार्थी नम्रता अधिकारी र सहयोगी प्रकाश खत्री गोसाइँकुण्ड गएका हुन् ।
संघका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले गोसाइँकुण्ड जाने तीर्थयात्रीको सुविधाका लागि चिकित्सक टोली गोसाइँकुण्डमा पठाइएको जानकारी दिए । टोलीले एकादशीदेखि पूर्णिमासम्म गोसाइँकुण्डमा तीर्थयात्रीलाई स्वास्थ्य सेवा प्रदान गर्नेछ । समुद्री सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डमा भक्तजनलाई लेक लाग्ने (अक्सिजन अभाव) समस्या देखिन थालेपछि संघले सन् १९९७ देखि निरन्तर रुपमा त्यहाँ स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
संघका अध्यक्ष डम्बर पराजुलीले लेक लाग्ने समस्या शतप्रतिशत रोकथाम गर्न सकिने भए पनि जनचेतनाको अभावमा कतिपयले ज्यान गुमाउने गरेको बताए । लेक लाग्दा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिने गरेकाले विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । तीर्थयात्रीलाई सचेत गराउन यस वर्ष संघले यससम्बन्धी जानकारीमूलक सामग्री वितरण गर्ने योजना बनाएको छ । गत वर्ष संघले ५०० भन्दा बढी बिरामीको उपचार गरेको थियो ।