नयाँ दिल्ली, भारतले बिहीबार चिनीको कच्चा पदार्थका लागि १० लाख मेट्रिक टनसम्म भन्साररहित दरमा आयात गर्न स्वीकृत गरेको छ । चाडबाडको मौसम नजिकिँदै गर्दा चिनीको बढ्दो मूल्य नियन्त्रण गर्न यो कदम चालिएको हो ।
संघीय वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो आयात ‘ट्यारिफ रेट कोटा’ अन्तर्गत १० लाख मेट्रिक टनसम्म ‘भन्साररहित’ हुनेछ र यो सुविधा अक्टोबर ३१ सम्म उपलब्ध रहनेछ ।’ स्थानीय कच्चा चिनीको आपूर्तिमा चिन्ता बढेपछि आयात कर घटाउन यो निर्णय लिइएको हो । एल निनो मौसमी प्रभावका कारण यस वर्षको मनसुन औसतभन्दा कमजोर हुन सक्ने अनुमान छ, जसले उत्पादनमा असर पार्न सक्छ ।
एल निनो प्रशान्त महासागरको मध्य र पूर्वी भूमध्यरेखीय क्षेत्रमा समुद्री सतहको तापक्रम बढाउने प्राकृतिक जलवायु परिवर्तन हो । यसले विश्वभर हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ । मानवसिर्जित जलवायु परिवर्तनको असरले यसको प्रभावलाई अझ तीव्र बनाउन सक्छ किनकि तातो समुद्र र वायुमण्डलले चरम मौसमी घटनाहरूका लागि बढी ऊर्जा र आद्र्रता उपलब्ध गराउँछन् । चिनीको उत्पादन घट्न सक्ने चिन्ताका कारण मूल्य रेकर्ड उचाइमा पुगेको स्थानीय सञ्चारमाध्यममा समाचार आइरहेका समय यसलाई सम्बोधन गर्न सरकारले योृ कदम चालेको मन्त्रालयले बताएको छ ।
विश्वका ठूला चिनी उत्पादक मुलुकमध्ये एक भारतमा सेप्टेम्बरदेखि जनवरीसम्म चिनीको खपत बढ्ने गर्छ । चाडपर्वको समयमा मिठाई र मिठासजन्य वस्तुको माग बढ्ने भएकाले यस्तो हुन्छ । आन्तरिक आपूर्ति बढाउन भारतले गत मे महिनामा चिनीको निर्यातमाथि प्रतिबन्ध लगाएको थियो। यो प्रतिबन्ध सेप्टेम्बर ३० सम्म कायम रहने एएफपीले उल्लेख गरेको छ ।