काठमाडौं, कृषि क्षेत्रलाई आर्थिक रूपान्तरणको आधार बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रका पदाधिकारीहरुको मनोनयन हस्तान्तरण कार्यक्रममा सहभागीहरुले कृषि क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले कृषि उत्पादनलाई बजारसँग जोड्न नसक्दा किसानले अपेक्षित लाभ लिन नसकेको भन्दै उत्पादनसँगै प्रशोधन, मूल्य अभिवृद्धि, बजारीकरण र निर्यातमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्ने बताए । किसान, उद्यमी, लगानीकर्ता र बजारबीच समन्वय गर्ने संस्थागत संयन्त्रका रूपमा कृषि उद्यम केन्द्रलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो । कृषि क्षेत्रमा लगानी र उद्यमशीलता विस्तारका लागि विद्यमान नीतिगत तथा संस्थागत अवरोध हटाउन महासंघले पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरणबिना दिगो आर्थिक विकास सम्भव नहुने बताए । किसानको उत्पादन, निजी क्षेत्रको लगानी, आधुनिक प्रविधि र बजारलाई जोडेर नयाँ कृषि उद्यम तथा रोजगारी सिर्जना गर्ने वातावरण बनाउन केन्द्रले काम गर्नुपर्ने उनले बताए । जिल्ला–नगर उपाध्यक्ष कृष्णप्रसाद शर्माले देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघसँग समन्वय गरी स्थानीय तहमा कृषि उद्यमको सम्भावना पहिचान र प्रवर्द्धन गर्नुपर्ने बताए । स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र किसान तथा उद्यमीबीच सहकार्य बढाउने काममा केन्द्रले भूमिका खेल्न सक्ने उनको भनाइ थियो । महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले कृषि क्षेत्रमा लगानी विस्तारका लागि वित्तीय पहुँच, लगानी सुरक्षा र अनुकूल व्यावसायिक वातावरण आवश्यक रहेको बताए । कृषि सम्भावनालाई व्यावसायिक अवसरमा रूपान्तरण गर्न केन्द्रका कार्यक्रम स्पष्ट लक्ष्य र परिणाममा आधारित हुनुपर्ने उनले बताए ।
कृषि उद्यम केन्द्रका सभापति शिवप्रसाद घिमिरेले कृषि क्षेत्रलाई परम्परागत निर्वाहमुखी प्रणालीबाट व्यावसायिक, प्रतिस्पर्धी र निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्ने बताए । नेपालको ठूलो जनसंख्या कृषि क्षेत्रमा निर्भर रहेको र कुल गार्हस्थ्य उत्पादनमा पनि कृषि क्षेत्रको महत्वपूर्ण योगदान रहेकाले कृषि रूपान्तरणविना समग्र आर्थिक समृद्धि सम्भव नहुने उनको भनाइ थियो । घिमिरेले उत्पादनदेखि प्रशोधन, मूल्य अभिवृद्धि, ब्रान्डिङ, प्याकेजिङ र निर्यातसम्मको पूर्ण मूल्य शृङ्खला विकास गर्नुपर्ने बताए । किसानलाई बजार र उत्पादनलाई उद्योगसँग जोड्दै कृषि–उद्योग समन्वय विस्तार, खाद्य प्रशोधन, कोल्ड चेन, भण्डारण तथा कृषि पूर्वाधारमा निजी लगानी आकर्षित गर्ने योजना अघि बढाउनुपर्ने उनले बताए । त्यस्तै, सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार र कृषि लगानी सम्मेलनजस्ता पहलमार्फत कृषि क्षेत्रमा लगानीको वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए । केन्द्रको नयाँ समितिको सहसभापतिमा राजेशभक्त श्रेष्ठलाई मनोनयन गरिएको छ ।