काठमाडौं, नेपाल डिस्टिलरिज प्रा. लि. का दुई प्रमुख ब्रान्डका अभियानले फ्लेम अवाड्र्स एसिया २०२६ मा चार प्रमुख सम्मान जितेका छन् । नयाँ दिल्लीमा आयोजित अवार्ड समारोहमा कम्पनीका अभियानले दुई स्वर्ण, एक रजत र दक्षिण एसिया ग्रान्ड प्रिक्स हात पारेका हुन् ।
अवार्डअन्तर्गत ‘मेरो खुकुरी’ अभियानले दुई स्वर्ण प्राप्त गरेको छ । अभियानले ‘दक्षिण एसिया इमर्जिङ मार्केट अभियान’ र ‘दक्षिण एसिया लास्ट–माइल इनोभेसन’ विधामा स्वर्ण जितेको हो । त्यस्तै, कम्पनीको न्युड ब्रान्डको ‘जस्ट बी यु’ अभियानले दक्षिण एसिया ग्रान्ड प्रिक्स प्राप्त गरेको छ । व्यक्तिगत पहिचान, प्रामाणिकता र आत्म–अभिव्यक्तिलाई केन्द्रमा राखिएको उक्त अभियानले ब्रान्डको मूल विश्वासलाई सांस्कृतिक रूपमा सान्दर्भिक सञ्चारमार्फत प्रस्तुत गरेको थियो ।
कम्पनीको ‘पोखरा फ्ल्यास मोब’ अभियानले दक्षिण एसिया स्मल बजेट क्याम्पेन विधामा रजत जितेको छ । सीमित बजेटमा स्थानीय अन्तर्दृष्टि, सिर्जनशीलता र प्रभावकारी कार्यान्वयनमार्फत अभियानले उल्लेखनीय प्रभाव सिर्जना गरेको आयोजकको मूल्यांकन छ । चारवटै सम्मान फरक अभियान र विधाबाट प्राप्त भएपनि उपभोक्ता, स्थानीय संस्कृति र सामाजिक सन्दर्भको गहिरो बुझाइलाई अभियानको आधार बनाइएको कम्पनीले जनाएको छ ।
‘मेरो खुकुरी’ अभियानले पुस्तौंदेखि उपभोक्तामा रहेको ब्रान्डसँगको सम्बन्धलाई अपनत्व र आफ्नोपनको अभिव्यक्तिमा रूपान्तरण गरेको थियो । उपभोक्तालाई ब्रान्ड कथाको केन्द्रमा राखिएको यस अभियानलाई प्रभावकारी ब्रान्ड अवधारणा र उपभोक्ता सहभागिताका लागि सम्मान गरिएको हो । कम्पनी र आउटरीच नेपालको सहकार्यमा तयार भएका यी अभियानले नेपाली बजारमा जन्मिएका सिर्जनात्मक अवधारणालाई दक्षिण एसियाली प्रतिस्पर्धामा समेत स्थापित गराउन सकिने देखाएको कम्पनीको भनाइ छ ।