काठमाडौं, नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार रावललाई डेपुटी गभर्नरमा नियुक्त गरिएको हो । डेपुटी गभर्नर रावलले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका थिए । रावल २०६९ सालमा उप–निर्देशक, २०७५ सालमा निर्देशक हुँदै २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए । पदोन्नतिपश्चात् उनले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थिए ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार भएको मन्त्रिपरिषद्को बैठकमा डेपुटी गभर्नरका लागि दुई जनाको नाम प्रस्ताव गरेका थिए । रावलसँगै डा. दिल्ली पोखरेलको नाम पनि सिफारिस गरिएको थियो । रावल हाल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभागका प्रमुखका रूपमा कार्यरत थिए । करिब २० वर्षदेखि राष्ट्र बैंकमा कार्यरत रावलले वित्तीय क्षेत्रको नियमन, बैंकिङ सुपरिवेक्षण, मौद्रिक नीति विश्लेषण, मुद्रा व्यवस्थापन तथा सम्पत्ति शुद्धीकरण निवारण र आतंकवादमा वित्तीय लगानी नियन्त्रण (एएमएल÷सीएफटी) लगायतका क्षेत्रमा काम गरेका छन् ।
सन् २०१९ देखि २०२४ सम्म उनले नेपालको वित्तीय जानकारी इकाइ (एफआईयू) प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए । वित्तीय विषयमा लामो अनुभव हासिल गरेका रावल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा वित्त विषयमा विद्यावारिधि शोधार्थीसमेत हुन् । उनले वित्तमा एमफिल, अर्थशास्त्रमा स्नातकोत्तर, व्यवस्थापनमा एमबीए तथा समाजशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर रहने व्यवस्था छ । यसअघि सरकारले किरण पण्डितलाई डेपुटी गर्भनरमा नियुक्त गरिसकेको छ । पछिल्लो पटक नियुक्त भएका रावलसंगै अब डेपुटी गर्भनरले पूर्णता पाएको छ ।