काठमाडौं, एनएमबी बैंकले आफ्नो डिजिटल रूपान्तरणको यात्रालाई थप गति दिँदै अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ कर्जा आवेदन ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ । नयाँ व्यवस्थासँगै ग्राहकले कर्जाका लागि आवेदन दिन बैंकको शाखामै पुग्नुपर्ने र कागजी प्रक्रियामा लामो समय खर्चिनुपर्ने बाध्यता कम हुने भएको छ ।
बैंकले सञ्चालनमा ल्याएको नयाँ डिजिटल पोर्टलमार्फत ग्राहकले आफू रहेको स्थानबाटै सहज रूपमा विभिन्न प्रकारका कर्जाका लागि आवेदन दिन सक्नेछन् । त्यति मात्र होइन, आवेदन पेस गरेपछि आफ्नो कर्जा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारीसमेत रियल–टाइममा हेर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार नयाँ प्रणालीले कर्जा प्रक्रियालाई थप सरल, पारदर्शी, छिटो र ग्राहक–मैत्री बनाउनेछ । कर्जा आवेदनदेखि त्यसको प्रगतिबारे जानकारी लिनेसम्मको प्रक्रियालाई डिजिटल माध्यममा ल्याइएकाले ग्राहकको समय बचत हुनुका साथै कागजी प्रक्रियामा समेत कमी आउने अपेक्षा गरिएको छ । एनएमबि बैंकको डिजिटल प्रणालीमार्फत कर्जा आवेदन दिन ग्राहकले बैंकको वेबसाइटमा लग–इन गरी लोन सर्भिनसमा गएर एक्स्प्लोर प्रोडक्ट्स विकल्प छनोट गर्नुपर्नेछ । त्यसपछि आफूलाई आवश्यक कर्जाको शीर्षक छनोट गरी माग गरिएका विवरण भरेर आवेदन पेस गर्न सकिनेछ ।
आवेदन फारम बुझाएपछि ग्राहकले तत्कालै अनलाइन लोन ट्रयाकिङ आईडी प्राप्त गर्नेछन् । उक्त ट्र्याकिङ आईडीको प्रयोग गरी ग्राहकले आफ्नो कर्जा आवेदनको अवस्था तथा प्रक्रिया कुन चरणमा पुगेको छ भन्ने जानकारी अनलाइनबाटै हेर्न सक्नेछन् । बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । भौतिक पूर्वाधारसँगै डिजिटल बैंकिङ सेवालाई समेत प्राथमिकता दिँदै आएको बैंकले पछिल्लो नयाँ प्रणालीलाई ग्राहक सेवामा प्रविधिको प्रयोग विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा लिएको छ ।