काठमाडौं , अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् । उनले कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल चाँडै ‘ग्रे लिस्ट’बाट बाहिर निस्कन सक्ने विश्वास व्यक्त गरेका हुन ।आन्तरिक राजस्व विभाग, लाजिम्पाटबाट देशभरका कर अधिकृतहरूलाई आज सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनको दृष्टिकोणबाट समेत मिहीन ढङ्गले हेर्नुपर्नेमा जोड दिए।
उहाँले कर सङ्कलनका नाममा करदातालाई जबर्जस्ती वा त्रसित बनाउनेभन्दा स्वेच्छिक कर अनुपालनमार्फत करको दायरामा ल्याउनुपर्ने बताए । कर प्रशासनलाई पारदर्शी र प्रभावकारी बनाउन सके राज्यप्रति करदाताको विश्वास बढ्ने उनको भनाइ थियो ।अर्थमन्त्री वाग्लेले कर प्रशासकहरूको वृत्तिविकासलाई उनीहरूको कार्यसम्पादन र राज्यलाई पुर्याएको योगदानका आधारमा प्राथमिकताका साथ अघि बढाइने बताए । कर प्रशासनमा काम गर्ने र राज्यलाई लाभ दिलाउने कर्मचारीलाई प्रोत्साहन गरिने उनले स्पष्ट पारे।
कर प्रशासनलाई चुस्त बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिसम्बन्धी कुनै पनि अभाव भए निर्धक्क भएर जानकारी गराउन उनले विभागीय नेतृत्वलाई आग्रह गरे ।यस वर्षको बजेटलाई अर्थतन्त्रको ‘जहाज’को मोडेलका रूपमा बुझ्न आग्रह गर्दै अर्थमन्त्री वाग्लेले आगामी चार आर्थिक वर्षका बजेटमार्फत सरकारले निर्माण गर्न चाहेको अर्थतन्त्रको आधार क्रमशः स्पष्ट हुँदै जाने बताए । उहाँले बजेटमा व्यवस्था गरिएका छुट तथा सहुलियतका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न, करदाता प्रोत्साहन कार्यक्रम सफल बनाउन, करदाता सचेतना वृद्धि गर्न तथा कारोबारलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न आवश्यक सबै पहल गर्न विभागीय नेतृत्वलाई निर्देशन दिए।