गिरिजा लिगेसीको देउवा काँग्रेसका एआई उत्तराधिकारहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, कृष्ण सिटौला, गगन थापा, विजय गच्छदार, विमलेन्द्र निधि, शेखर कोइराला आदि इत्यादि एक भए भने ‘बीपी विचार फलिभूत हुने’ एउटा भाष्य युट्युब जगतमा भेटिन थालेको छ । यस्तो भाष्य फलाक्नमा गिरिजाको राष्ट्रघात (टनकपुर)का राजनीतिक सल्लाहकार र देउवाको लुटतन्त्र (मानव तस्करीसम्म)का आर्थिक सल्लाहकार भएर ऋषि धमला, टीकाराम यात्रीदेखि विजयकुमार पाण्डेसम्म १२ भाइ पत्रकार जगतका ठूलो विद्वान् राजनीतिक विश्लेषक (तीसमारखाँ) कहलिएकाहरू आदि इत्यादि ठूलो–ठूलो स्वरले घाँटीका नशा फुलाएर घोक्रो सुकाइरहेका देख्दा सुन्दा महाभारत कथाको ‘बार्बरिक’ प्रसङ्ग स्मृतिमा अध्यावधिक हुन आइपुग्छ । किनभने देउवा काँग्रेसका माथि उल्लिखित आदि इत्यादि एआई उत्तराधिकारहरू ‘एक हुनु’ र ‘बीपी विचार फलिभूत हुनु’मा कोसौं–कोसौं टाढा कतै गोरु बेचेको जति पनि कुनै साइनो सम्बन्ध नजोगिएको विसं. २०५१को मध्यावधि यताका बीपी नामका अनैतिक अत्याचार (देश बेचेर जनता लुटेर जसरी भए पनि सत्तामा पुग्ने, सम्पत्ति थुपार्ने, मोजमस्ती गर्ने) हर्कतले सीमा नाघेको आम नेपाली नवजागरणमा ‘ए टु जेड’ बादल हटेको मध्यान्हको घाम र पूर्णिमाको जून जत्तिकै सबै छर्लङ्ग भइसकेको छ ।
महाभारत कथाको ‘बार्बरिक प्रसङ्ग’ के हो भने उनी एक किँरात (पशुपतिनाथ) वंशका धर्तीपुत्र थिए । उनले महादेवी दुर्गा भवानीको कठोर दुर्लभ तपस्या गरेर वरदान स्वरुप तीनवटा अकाट्य अस्त्र प्राप्त गरेका थिए । कुरुक्षेत्रमा महाभारत युद्ध हुँदैछ भन्ने समाचार सुनेर हेर्न भनेर त्यता जाँदै थिए, बाटामा श्रीकृष्ण भेट हुनुभयो । बार्बरिकको हिँडाइमा एउटा अपराजित शक्तिको आभामण्डल देखेर श्रीकृष्णमा उत्सुकता उत्पन्न भयो । सोध्नुभयो, ‘कता हिँडेको ?’ बार्बरिकले जवाफ दिए, ‘महाभारत युद्ध हेर्न जान लागेको ।’ ‘कौरव पाण्डव कसको पक्षमा लाग्छौ ?’ कृष्णले सोध्नुभयो । ‘किँरात (शिव) वंशी योद्धा हुँ । कुल धर्मअनुसार जो हार्छ उसको पक्षमा लाग्छु ।’ बार्बरिकको यस्तो जवाफ श्रीकृष्णलाई खतराको घण्टी थियो । भन्नुभयो, ‘मसँग युद्ध गरेर जीत, अनि मात्र पत्याउँछु तिम्रो हार्ने पक्षमा लाग्ने कुरा ।’ यसरी कृष्ण र बार्बरिकका बीच युद्ध प्रारम्भ भयो । आफ्नो तर्फबाट पहिलो प्रहार नगर्ने कुल धर्मअनुसार कृष्णलाई पहिलो अस्त्र हान्न अनुमति दिए । कृष्ण पनि हतारमा धेरै अलमल गर्ने पक्षमा हुनुहुन्न थियो । एकैचोटी सुदर्शन चक्र हानेर आफ्नो बाटो लाग्ने सोच्नुभयो । महादेवी दुर्गा भवानीका अकाट्य तीन अस्त्रमध्ये एउटा अस्त्रले सुदर्शन चक्रलाई निस्तेज तुल्याइदिए । अब अस्त्र हान्ने पालो बार्बरिकको थियो । उनले दोस्रो अकाट्य अस्त्र कृष्णमाथि प्रहार गरे । त्यस अस्त्रबाट एक शिवजी बाहेक अरू कोही पनि जोगिने सम्भावना हुन्नथ्यो । यो देखेर महादेवले अस्त्र छेकीदिनुभयो र भन्नुभयो, ‘कृष्णले सृष्टिका लागि बाँच्नु पर्छ ।’ कृष्णले बुझिहाल्नुभयो बार्बरिकलाई नपन्छाएसम्म महाभारत युद्ध जितिँदैन । छल गर्नमा महादेव र विष्णुले पनि नसक्ने कृष्णको फेला परेर टाउको काट्नु पर्दा महाभारत युद्ध हेर्ने इच्छा जाहेर गरे । तथास्तु भनेर कृष्णले कुरुक्षेत्रको सबै युद्ध देखिने अग्लो डाँडाको रुखको टुप्पोमा बार्बरिकको टाउकोलाई राखिदिनुभयो । युद्ध सकिएपछि भीम र अर्जुनमा युद्ध जित्नुको निर्णायक योद्धा आफू रहेको घमण्ड भयो । कृष्ण समक्ष फैसला गरिदिन निवेदन हाले । कृष्णले भन्नुभयो, ‘म अर्जुनको सारथी, उनको युद्ध देखेको छु, तर भीमको युद्ध नदेखेको हुँदा निष्पक्ष फैसला गर्न योग्यता पुग्दैन । सबैको युद्ध देख्ने बार्बरिक छन्, उनले बताइदिन्छन् ।’ कृष्णको आज्ञा शिरोधार्य गरेर दुवै बार्बरिक समक्ष पुगे र आफ्नो प्रश्न राखे । बार्बरिकको उत्तर थियो, ‘खोइ मैले त भीम अर्जुन कता थिए, कसैलाई देखिँन । कृष्णको सुदर्शन चक्र चारैतिर घुमीघुमी सबैलाई छप्काइरहेको मात्र देख्दथ्येँ । आकलझुकल द्रौपदीको जगेल्टा देख्दथ्येँ’ बार्बरिकको यस्तो उत्तर पाएपछि दुवैको अहंकार चुर भयो जुन कृष्णको उत्तर थियो ।
विसं. २०८२ साल भदौ २४ गते बुढानीलकण्ठको दरबार र डलर, भारू, नेरूको गोदाम खरानी भएर जेनजी पुस्ताबाट रगताम्य हुने गरी धोबीचुटाइ खाएर भागेको (अनैतिकताको अत्याचारले सीमा नाघेर बुढानीलकण्ठ भगवान्बाट लखेटिएको) दुईपटक काँग्रेस सभापति, पाँच पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवा छ महिना इन्टरपोलको रेड कर्नर नोटिस छल्दै सिङ्गापुर हङकङ बरालिएर देश फर्कँदा एयरपोर्टमा उफारिएका काँग्रेस, एमाले, माओवादी जनका ५/७ हजार कार्यकर्ता भीडको अर्थ र औचित्य विषयमा टिप्पणी गर्न अग्रसर हुँदा महाभारत कथाको यति ‘बार्बरिक प्रसङ्ग’ ल्याउनुको खास कारण पंक्तिकार पनि नेपाली काँग्रेसभित्रको महाभारतमा ‘बार्बरिक’ बनाइएको पात्र हो ।
विसं. २०२८ साल वनारसको सिटी हलमा बीपी र पुष्पलाल बीच राजनीति आर्थिक नीतिमा हस्ताक्षर हुन बसेको बैठकमा अभानेविसंघ वनारस शाखाको समाजसेवा सचिवमा निर्वाचित विद्यार्थी नेताको हैसियतले साक्षी रहे यता १७ वर्षको उमेरदेखि बीपी विचार बोकेको । बीपी विचारमै एकासन रहेको ५५ वर्ष भयो । ७ वर्ष जेल, २५ वर्ष सक्रिय लेखन पत्रकारिता गर्दा मेरो लेख छाप्ने पत्रिकाको दर्ता खारेजी, सम्पादकलाई जेल । बीपी विचार केन्द्रमा राखेर दर्जन बढी पुस्तक लेखन/प्रकाशन । काँग्रेसमा शेरबहादुर, रामचन्द्र भन्दा धेरै माथिकी नेतृ शैलजा आचार्यसँग काँग्रेस अफिसमा गणेशमान, भट्टराई, गिरिजाकै अगाडि चप्पल हानाहान प्रकरण भएर राष्ट्रव्यापी खोजीनिती चासो आजको भाषामा भाइरल । शैलजासँग फेरि मन मिल्न जुटाउनभन्दा फुटाउन तल्लिन नेपाली पत्रकारिताको मूल चरित्रका कारण १४ वर्ष लाग्यो । भेट हुँदा स्वयं शैलजा नै मन्द विषको शिकार भएर स्वर्गतर्फको पाइला उचालिसकेकी जस्ता आदि/इत्यादि धेरै अध्यायहरू छन् जसबाट पंक्तिकार काँग्रेस महाभारतको ‘बार्बरिक’ चिनारी पुष्टी र प्रमाणित हुन्छ । बीपी विचारमा ५५ वर्ष एक क्षण र एक निमेष पनि यताउति नभइ एकासनमा तपस्यारत रहेका कारण मलाई त्यो बार्बरिक हेराइ उपलब्ध भएको हो भन्ने मेरो दाबी छ ।
देउवाको एयरपोर्ट भीड बारेको अभिष्ट टिप्पणीमा आइपुग्नुअघि महाभारतका बार्बरिकले देखेको ‘सुदर्शन चक्र’ र ‘द्रौपदीको जगेल्टा’ जस्तै समग्र (काँग्रेसको मात्र होइन) हाम्रो राजनीति महाभारतको सुदर्शन चक्र ०७ सालको फागुन ७ प्रजातन्त्र नामको ‘भारततन्त्र’ रहेको र बेलाबेला देखिने गरेको द्रौपदीको जगेल्टा चाहिँ राजा ज्ञानेन्द्रका बेलाबेलाका ‘जनगुहार’लाई लिन सकिन्छ । ०७ साल यताको नेपाली राजनीतिको सम्पूर्ण हिसाबले पुष्टी र प्रमाणित यो पृष्ठभूमि (इतिहास)को अध्ययन, ठहर, दृष्टिबोध (बार्बरिक हेराइ) नभइ देश, जनता, प्रणालीले खोजेको नवजागरणयुक्त राजनीतिक गति उपलब्ध हुन सम्भव छैन । यो मेरो किटान ठहर हो । आजको हामीकहाँ व्यापक बहुराष्ट्रिय कम्पनीको रोबोट बौद्धिकता (नेपाली जनताका टाउकोमा थोपरिएको ३० खर्ब बढी वैदेशिक ऋण निहित आर्जन र मोजमस्तीमा पचाइदिए)लाई यो पुष्टी र प्रमाणित पृष्ठभूमि इतिहास दृष्टिगोचर हुन नसके पनि सधैँभरि यस रोबोट बौद्धिकता जागरण चेतना रहिरहने भन्ने हुन्न ।
एयरपोर्टमा देउवा स्वागतमा देखिएको ५/७ हजार भीड विषयमा तथ्य उजागर गर्नुअघि एउटा अन्तर्राष्ट्रिय स्तरको सर्वे रिपोर्टको रिजल्ट परिणाम पाठ्यक्रममा ल्याउँछु । त्यस सर्वे टिममा नेपालका तर्फबाट गाइड सदस्य बहुप्रतिष्ठित बौद्धिक व्यक्तित्व दीपक ज्ञवाली रहनु भएकाले उहाँबाट नै यो पाठ्यक्रम उपलब्ध भएको हो । बिहान बेलुका छाक टार्न नै ८३ प्रतिशत विदेशबाट आयातमा निर्भर भएर ३० खर्ब बढी वैदेशिक ऋणको ब्याज तिर्न नै ऋण लिनुपर्ने अवस्था भनेको एक प्रकारले ‘ब्ल्याक लिस्ट’मा पुगेको अवस्था हो । प्राकृतिक (आत्मनिर्भर) रूपमा जापान–सिङ्गापुर भन्दा धेरै सम्पन्न नेपाल दयामायाले कति कारणले हो बुझ्न ‘ग्रे लिस्ट’मा पारिएको छ र माथि उल्लिखित सर्वे अध्ययन अनुसन्धान गरिएको हो । त्यस अनुसन्धान सर्वेको रिजल्ट परिणाम के भने खासगरि गणतन्त्र लादिए यताको नेपालको राज्यसत्तालाई पूर्ण रूपमा ११ हजार गुण्डाहरूले क्याप्चर गरेका रहेछन् । जुन तथ्यांकहरूलाई हाम्रा चर्चित राजनीतिक विश्लेषक पुरञ्जन आचार्य आफ्ना युट्युब वार्ताहरूमा पटकपटक रेफ्रेन्समा ल्याउने गर्छन् । ती डनहरू मध्ये कति हजार देउवाको स्वागतमा एयरपोर्ट पुगे भन्ने गौण कुरो हो । त्यसका नायक डनहरूका पनि डन चाहिँ शेरबहादुर देउवा रहेका उनको ‘मलाई राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छन् ?’ भन्ने हुँकार र मुड्की उचालेबाट पुष्टी र प्रमाणित हुन्छ । कविलायी चेतना, कमाराकमारी, दाश मानसिकताले यो सत्य भेउ नपाउनु सधैँभरि यस्तै भन्ने हुन्न ।
अनेक उदाहरण (काँग्रेस सभापति, महामन्त्री द्वय, केन्द्रीय सदस्यहरूलगायत सारा प्राधिकार नेतृत्वले हसियाँ हथौडा चुनाव चिन्हमा भोट मागेका लगायत) मध्ये दुइटा उदाहरणबाट काँग्रेस पूर्ण रूपमा जनाधारच्यूत भएर सकिएको टड्कारो छर्लङ्ग हुन्छ । विसं. २०५१को मध्यावधी यता काँग्रेसका तर्फबाट जति पनि गृहमन्त्री भए, खुमबहादुर खड्का, गोविन्दराज जोशी, विजय गच्छदारदेखि बालकृष्ण खाण, रमेश लेखकसम्म सबै नै भ्रष्टाचार मानव तस्करी (३ करोड जनसङ्ख्याका ८० लाख बढी बलिया पाखुरी जनसङ्ख्या विदेशमा कामदार हुन विवश) अपराधमा जेल काटेकाबाट आम जनजागरणमा काँग्रेसको असली अनुहार अन्तर्य छर्लङ्ग हुन्छ । यहाँ सकिएको काँग्रेस भनेको गिरिजा लिगेसीको देउवा काँग्रेसका एआई उत्तराधिकारहरू भन्ने बुझ्नुपर्छ । यस्ता भ्रष्टाचारीहरूका पनि डन थिए खुमबहादुर खड्का । उनी भ्रष्टाचार मुद्दामा ३/४ वर्ष जेल काटेर बाहिर निस्कँदा काँग्रेसका केन्द्रीय सदस्य सांसद (शंकर भण्डारी आदि इत्यादि) तरुण दल, नेविसंघलगायत सारा भातृसंस्थाका पदाधिकारीगणको एउटा ठूलो भीडले पटनाबाट सय किलोको फूलको माला झिकाएर (रातारात) जेल गेटदेखि सिंहदरवार गेटसम्म रथ यात्रा अबिर जात्रा गरेकाबाट काँग्रेस सकिएको एउटा उदाहरण छर्लङ्ग भएको थियो । पछि कालक्रममा खुमबहादुरको जन्म जिल्ला दाङमा उनको बडेमानको सालिक खडा गरेर त्यसमा शेखर कोइराला, पूर्ण खड्का, गगन थापा, बालकृष्ण खाण आदि इत्यादिले धुपबत्ति अक्षता स्तुति भजन गरेर काँग्रेसको चिनारीको चिनो (चिहान) जोगाउने कोशिस अवश्य भएको थियो । तर दोस्रो उदाहरण एयरपोर्टको देउवा स्वागत हर्कतबाट त अब काँग्रेस चिहानको चिनो पनि मासिने छर्लङ्ग भएको छ ।
काँग्रेस सकिनुका यी दुवै उदाहरणमा एउटा समानता भने प्रष्ट देखिन्छ । खुमबहादुर खड्काले जेल काटेर जरिवाना तिरेर जोगिएको उनको परिवार शाखासन्तान नामको अर्बौँ चलअचल सम्पत्ति जोगाउन ‘हिन्दु राष्ट्रको नारा’ फलाकेर शंकर भण्डारी जस्ता आदि इत्यादि आफ्ना लुटतन्त्रका मतियार कारिन्दाहरूलाई खुब उफारेका थिए भने अहिले देउवा पनि ‘म हिन्दु हुँ, म हिन्दु हँ, म हिन्दु हुँ’ फलाकेर कमसेकम छोरा र श्रीमतीका नामका श्रोत नखुलेका सम्पत्ति जोगाउन च्याँखे थापिरहेका छन् । तर कालक्रममा जस्ता प्रकारले खुमबहादुर खड्काको करोडौँ अवैध सम्पत्ति राज्यको ढुकुटीमा फिर्ता आयो त्यसैगरि देउवा परिवारको अवैध सम्पत्ति राष्ट्रिय ढुुकुटीमा फिर्ता आउने पक्का छ । यस्ता मुद्दामा रास्वपाले खुट्टा कमाए उसैका लागि ठूलो दुर्भाग्य हुने पनि पक्का छ । अस्तु ।