काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबारदेखि वडा अधिवेशन सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिले स्थानीय अनुकूलताअनुसार शनिबार र आइतबार वडा अधिवेशन गर्न सकिने जनाएको छ ।
कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार ७ असोजमा गाउँ–नगरपालिका अधिवेशन, १० असोजमा प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र १६ देखि १९ असोजसम्म केन्द्रीय महाधिवेशन हुनेछ । नयाँ नेतृत्व चयनका लागि १९ असोजमा मतदान हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् ।
यसपटक कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुने भएको छ । संशोधित विधानअनुसार १७१ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ६१ जना सभापतिले मनोनयन गर्नेछन् ।त्यस्तै, सहमहामन्त्रीको संख्या ११ पुर्याइएको छ । आठ जना निर्वाचित हुनेछन् भने तीन जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ ।
कांग्रेसले ३५ वर्षमुनिका युवालाई पनि केन्द्रीय कार्यसमितिमा समेट्ने भएको छ । प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना र खुलाबाट सात जना गरी २१ जना युवा केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
विशेष प्रवेश अर्थात् ‘ल्याटरल इन्ट्री’बाट पार्टीमा आएका महाधिवेशन प्रतिनिधिमध्येबाट दुई महिलासहित सात जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । नेपाली जनसम्पर्क समितिका प्रतिनिधिमध्येबाट पनि छ जना केन्द्रीय सदस्य चयन हुनेछन् ।
वडा अधिवेशनले सभापति, दुई उपसभापति, सचिव र सहसचिवसहित वडा कार्यसमिति चयन गर्नेछ । साथै वडा अधिवेशनबाटै क्षेत्रीय अधिवेशनका प्रतिनिधि पनि चयन हुनेछन् ।
संशोधित विधानअनुसार वडा सभापतिको उम्मेदवारका लागि यसअघि रहेको एक वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्था हटाइएको छ । तर, अन्य तहका पदमा उम्मेदवारीका लागि निर्वाचन निर्देशिकाले क्रियाशील सदस्यताको अवधि तोकेको छ ।
केन्द्रीय सभापतिका लागि १५ वर्ष र केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि १० वर्ष निरन्तर क्रियाशील सदस्यता आवश्यक पर्ने व्यवस्था निर्वाचन निर्देशिकामा गरिएको छ । वडा अधिवेशनबाट सुरु हुने कांग्रेसको १५औँ महाधिवेशन असोज १९ गते नयाँ नेतृत्व चयनका लागि मतदानसँगै टुंगिनेछ ।