काठमाडौं, ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बीगेसो)ले बेलायतमा हालै भएको भनिएको ब्रिटिस गोर्खा सैनिकसम्बन्धी वार्ताप्रति आपत्ति जनाएको छ । बिहीबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले सर्वोच्च आदालतको फैसला कार्यान्वयन नगर्ने तथा सिंगापुर सरकार र बेलायती सेनाका प्रतिनिधिको नेपाल भ्रमणले त्रिपक्षीय गोर्खा भर्तीसम्बन्धी सम्झौतालाई जीवितै राख्ने कसरत गरेकोसमेत बीगेसको आरोप छ ।
बीगेसोका वरिष्ठ सल्लाहकार परि थापाले सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय गोर्खा भर्ती सम्झौता केबल नेपाल नागरिकलाई तस्करी गरेर शोषण गर्ने माध्यम भएकाले जसरी पनि खारेज गर्नुपर्नेमा जोड दिएका छन् । उनले बेलायत सरकारले नेपाली नागरिकलाई भाडाका सिपाइकारुपमा प्रयोग गरेर मानवअधिकारको उल्लङघन गरेको धारणा राखे । ‘नेपालले असंलग्न प्रराष्ट्र नीतिलाई अबलम्बन गरेको छ तर उसले आफ्नै नागरिकलाई वैधानीकरुपमै अर्को मुलुकमा सेना बनाएर अरु मुलुकसँग लड्न दिएको छ, यो राष्ट्रिय स्वाधिनता विरुद्ध छ’ थापाले भने ।
बीगेसो अध्यक्ष पदमसुन्दर लिम्बुले अन्यायपूर्ण र असमान गोर्खा भर्ती केन्द्रसम्बन्धी सर्वोच्च अदालतले दिएको न्यापूर्ण फैसाललाई कार्यान्वयन गर्नुको सट्टा नेपाल सरकार स्वयं जस्ताको तस्तै राख्ने कसरतमा रहेको दाबी गरे । ‘सम्मानित सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई प्रभावित गर्न बेलायत र भारत नेपाली शासकहरुलाई किनेर नेपाली नागरिकलाई दास बनाइ राख्ने त्रिपक्षीय सम्झौता टिकाइ राख्ने षड्यन्त्रमा छन्, जसलाई बिगेसो सफल हुन दिने छैन’, लिम्बुले भने ।
बीगेसो सल्लाहकार रतन भण्डारीले अन्यायपूर्ण भर्ती केन्द्रसम्बन्धी अदालतले दिएको आदेशलाई समेत लगतकट्टीका नाममा खारेज गर्ने कसरतमा नेपाल सरकार लागेको आरोप लगाए । नागरिकलाई वैधानीक दास बनाउने मात्रै नभएर नेपालको सर्वभौमसत्ता र स्वाधीनतामाथिको चुनौति रहेकोसमेत भण्डारीको दाबी छ ।
बीगेसो सिंगापुर विभाग प्रमुख पलबहादुर घर्तीले बेलायत सरकारले नेपालबाट ब्रिटिस गोर्खा सैनिककारुपमा भर्ति गर्ने तर पछि उनिहरुलाई भाडाका सिपाइकारुपमा सिंगापुर, ब्रुनाइलगायतका देशहरुमा तस्करी गर्ने गरेको आरोप लगाए । घर्तीले नेपाली युवाहरुको मेहनत र परिश्रमको मूल्य बेलायतले लिएर सेवानिवृत्त हुने बेला खालि हात पठाउने, उनिहरुले नेपालीसँगै मात्रै विवाह गर्नुपर्ने, विदुवा पेन्सनविमुख गर्ने, औषधि उपचारलगायतका सेवाबाट विमुख गर्ने लगायतका कार्यले अमानवीय क्रूर भएको जिकिर गरे ।