काठमाडौं, रसुवा बाढी प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले शाओमी नेपालले २०० सेट आवश्यक घरायसी सामग्री सहयोग गरेको छ ।
‘शाओमी फर कम्युनिटी’ अन्तर्गत २०० वटा राहत सामग्रीका सेट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । प्रत्येक राहत सेटमा एउटा प्रेसर कुकर, एउटा कराइ, पाँचवटा प्लेट, पाँचवटा चम्चा, छवटा कप, पाँचवटा कचौरा र एउटा थर्मस बोतल समावेश गरिएको छ । यसरी २०० सेटमार्फत बाढीपहिरो प्रभावित परिवारका लागि दैनिक खाना पकाउन तथा खानपिनका लागि आवश्यक घरायसी सामग्री उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।
‘दैनिक जीवनको पुनर्निर्माणमा सहयोगी हात’ भन्ने भावनाका साथ गरिएको यस सहयोगले बाढीपहिरोबाट प्रभावित परिवारलाई पुनः सामान्य जीवनतर्फ फर्किने क्रममा केही राहत र सहजता प्रदान गर्ने विश्वास शाओमी नेपालले लिएको छ । शाओमी नेपालले यसअघि पनि भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको थियो ।