काठमाडौं, कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धित महर्षि कलेजबीच पाँचवर्षे रणनीतिक सम्झौता भएको छ । नेपालभर कृत्रिम बौद्धिकता (एआई) तथा आधुनिक प्रविधि शिक्षा विस्तार गर्ने उद्देश्यले पाँच वर्षे रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको हो । काठमाडौंमा आयोजित कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीबी अधिकारी र महर्षि कलेजका प्रिन्सिपल रामराज आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार सातै प्रदेशका विद्यार्थी तथा युवालाई लक्षित गरी एआई, कोडिङ र अन्य भविष्यमुखी प्रविधिसम्बन्धी तालिम, बुटक्याम्प, ह्याकाथन, इनोभेसन च्यालेन्ज तथा स्टार्टअप इन्कुबेसन कार्यक्रम सञ्चालन गरिनेछ । शिक्षकहरूको क्षमता अभिवृद्धिका कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ । क्यान महासंघका अनुसार उक्त सहकार्यले शैक्षिक संस्थाको सिकाइलाई प्रविधि उद्योगसँग जोड्दै विद्यार्थीलाई व्यावहारिक सीप विकास गर्ने अवसर उपलब्ध गराउने लक्ष्य राखेको छ ।
सम्झौता कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीबी अधिकारीले एआई प्रविधिको विकास र प्रयोगमा नेपाली युवाको सहभागिता बढाउन तथा सातै प्रदेशमा अवसर विस्तार गर्न सहकार्य केन्द्रित हुने बताए । महर्षि कलेजका प्रिन्सिपल रामराज आचार्यले शैक्षिक प्रणालीलाई उद्योगसँग जोडेर प्रविधि क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सम्झौता गरिएको बताए । यसले विद्यार्थीलाई रोजगारी र उद्यमशीलतासँग जोड्ने वातावरण तयार गर्ने उनको भनाइ छ ।