काठमाडौं,मुगुको राइडर गणेश नेपालीले महानगर प्रहरीको ज्यादतीविरुद्ध आत्मदाह गरेपछि मुलुकमा आत्मदाहका घटना दिनप्रतिदिन हुँदै गएका छन् ।ऋणधन गरेर बाइक किनेर पठाओ चलाउँदै आएका नेपालीलाई काठमाडौं महानगरपालिकाका प्रहरीले कतै पनि रोक्न दिएनन् । चालक नेपाली बाइकमा हुुदाँहुँदै त्रिपुरेश्वमा रहेको राहदानी विभागअगाडि महानगर प्रहरीले उनको बाइकमा ‘ह्वील लक’ गरेको थियो । महिला नगरप्रहरीले आफूसँग सवालजवाफ गरेको मोबाइल फुटाइदिएको भन्दै बार्गेनिङ गरेर मोबाइल किन्ने रकम मागेकी थिइन् । त्यसपछि बाइक त्यहीँ छोडेर हिँडेका नेपालीले करिब दुई घन्टापछि पेट्रोल लिएर त्यही ठाउँमा फर्किएर आत्मदाहको प्रयास गरेका थिए । त्यहाँबाट तत्कालै उपचारर्थ अस्पताल पु¥याईएका नेपालीको त्यही निधन भएको थियो ।
राइडर नेपालीको निधनपछि प्रहरीले महानगर प्रहरीका दुई महिला र एक पुरुषलाई नियन्त्रणमा लिएर सोधपुछ गरेर छाडेको बताइएको छ । तर ती के को थिए भन्नेचाहिँ कतै खुलाइएको छैन । त्यसपछि गृहमन्त्री सुधन गुरुङले काठमाडौं महानगरपालिकाकी का.वा. मेयर सुनिता डंगोललाई गृह मन्त्रालयमा बोलाएर निकै झपारेको कुरा पनि एक कान दुई कान हुँदै मैदान भएको छ । गृहमन्त्री गुरुङले उनीसँग कुरा गर्नुअघि नै स्थानीय सत्ता एमालेको हातमा भएकाले गणेश नेपालीको आत्मदाहको जिम्मा पनि एमालेले नै लिनुपर्ने बताएका थिए । गृहमन्त्री गुरुङ र कावा मेयर डंगोलबीचको वार्तापछि सरकारले उच्च अदालतका पूर्वन्ययाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा साउन ६ गते छानबिन समिति गठन गरेको छ । का.वा. मेयर डंगोललाई रास्वपामा प्रवेश गराउने प्रयास विफल भएपछि उक्त समिति बनेको हो ।
२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा वालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए र महानगरपालिकामा एक्लो मेयर शाहले महानगर प्रहरीकै बलमा फुटपाथका व्यापारी उठाउनेदेखि कबाडी संकलकहरूलाई लखेट्नेसम्मका ज्यादतीपूर्ण हर्कत गरेका थिए । स्थानीय भन्सारको रूपमा रहेको काठमाडौं महानगरका सुरक्षाकर्मी महानगर प्रहरीले आफूलाई त्यसैबेलादेखि सर्वैसर्वा ठान्न थालेका हुन् र नागरिकमाथि ज्यादती गर्न थालेका हुन् । त्यतिबेला मेयर शाहले जे बोले पनि त्यसको प्रतिरक्षा गर्ने काम नगरप्रहरीले गर्ने गथ्र्यो । सडकपेटीमा मकै पोलेर आफ्नो गुजारा चलाउँदै आएका गरिब निमुखा नागरिकको पेटमा लात मारेर लखट्ने निर्दयी नगरप्रहरीले त्यही हर्कत दोहो¥याउँदा गणेश नेपालीले आत्मदाह गर्ने व्यवस्था आएको हो । महानगर प्रहरीलाई यसरी निरंकुश र निर्दयी बनाउने र त्यसको नेतृत्व जो हो, यो घटनाको मुख्य दोषी पनि उही हो । तर ती दोषीमाथि छानबिन गर्ने सामथ्र्य न यो छानबिन समितिसँग छ, न त सरकार नै त्यस्तो छानबिन गर्न चाहन्छ ।