काठमाडौं,रास्वपाको नाममा वालेन्द्र शाह (बालेन)को नेतृत्वमा नयाँ सरकार बनेपछि लय मिलाएर काम हुन छाडेको छ भने सरकारको निर्णय एक–अर्कामा परस्पर विरोधी देखिन थालेका छन् । सार्वजनिक बिदाको पुनरवलोकन गर्ने निर्णय यसैमध्ये एक हो ।नवनियुक्त मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको सचिवहरूको बैठकले बिदा पुनरवलोकन गर्ने निर्णय गरेको छ । नेपालमा यो वर्षभरिमा ५३ दिन शनिबार परेको छ भने शनिबारको बिदा परम्परा बनिसकेको छ । बालेन सरकार आएपछि युरोपतिर जस्तो गर्ने भनेर सातामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारको यो निर्णय अपरिपक्क र राष्ट्रिय आवश्यकताको हितविपरीतको निर्णय भनेर सार्वजनिक रूपमा आलोचना भइरहेको छ । सरकारको सातामा दुई दिन बिदा दिने निर्णयले तीन सय ६५ दिनको एक वर्षमा एक सय छ दिन सार्वजनिक बिदा हुने भएको छ । त्यसमाथि वर्षभरि हुने चाडपर्वलगायतको ७६ दिन बिदा हुने गर्दछ । वर्षभरिमा अर्थात् तीन सय ६५ दिनमा एक सय ८२ दिन सार्वजनिक बिदा हुने गर्दछ । त्यसमाथि भैपरी आउने बिदा थपिनेछन् । भैपरी आउने बिदा नथपिँदा वर्षभरिमा जम्म एक सय ८३ दिन कार्यदिन हुनेछ र एक सय ८२ दिन बिदाको दिन हुनेछ । भैपरी आउने बिदा थपिँदा वर्षमा काम गर्ने दिनभन्दा बिदाको दिन बढी हुनेछ ।
हाम्रो देशमा विकास निर्माणको पछौटे अवस्था हेर्दा वर्षभरिका सबै दिन काम गर्नुपर्ने आवश्यकता देखिन्छ । तर त्यस्तो देख्दादेख्दै पनि सरकारमा रहेकाहरूलाई शुक्रबार बेलैमा अफिसबाट निस्किएर शनिबार र आइतबार बाहिरतिर कतै गएर ‘रिल्याक्स’ गरेर सोमबार अफिस फर्कने सुविधाका लागि हतारमा साताको दुई दिन बिदा दिने निर्णय गरियो र अहिले फुर्सदमा पछुताएर सार्वजनिक बिदा पुनरवलोकनका लागि मुख्य सचिवलाई अघि सारेर कमिटी गठन परिएको छ । बालेन सरकार त्यो निर्णय र यो निर्णयलाई केटाकेटीपनको रूपमा हेरिएको छ ।