काठमाडौं, गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजनाका इकाइहरूको नियमित बिक्री, पुनःखरिद तथा अनलाइन दर्ता एवं कारोबार प्रणाली सञ्चालनमा आएको छ ।
नेपाल धितोपत्र बोर्डमा धितोपत्रसम्बन्धी ऐन, २०६३ तथा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम दर्ता भएको योजनाको प्रवद्र्धक गरिमा विकास बैंकर योजना व्यवस्थापक गरिमा क्यापिटल रहेका छन् । लगानीकर्तालाई सहज, सुरक्षित तथा प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले २०८३ साल श्रावण २६ गते मंगलबारदेखि नियमित बिक्री, पुनःखरिद तथा अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याइएको गरिमा क्यापिटलले जनाएको छ ।
नयाँ प्रणालीमार्फत लगानीकर्ताले घरमै बसेर योजनाका इकाइ खरिदका लागि आवेदन दिन तथा रकम भुक्तानी गर्न सक्नेछन् । साथै, व्यवस्थित लगानी योजनामा दर्ता, एसआईपीको किस्ता भुक्तानी, लाभांश पुनःलगानी योजनामा दर्ता लगायतका सुविधा पनि अनलाइनबाटै उपलब्ध हुनेछन् । त्यसैगरी, लगानीकर्ताले अनलाइन प्रणालीमार्फत आफ्नो दर्ता, लगइन तथा प्रोफाइल व्यवस्थापन गर्न सक्नेछन् । इकाई पुनर्खरिद, एसआईपी संशोधन तथा एसआईपी रद्द गर्नेलगायतका सुविधा पनि प्रणालीमा समावेश गरिएको छ ।
गरिमा क्यापिटलका अनुसार हाल उपलब्ध सुविधा बाहेक अन्य अनलाइन सेवाहरू पनि क्रमशः थप गर्दै लगिनेछन् । यसबाट योजनामा सहभागी लगानीकर्ताले कार्यालय तथा शाखामा भौतिक रूपमा उपस्थित नभई विभिन्न लगानीसम्बन्धी सेवा लिन सक्ने अपेक्षा गरिएको छ । योजनासँग सम्बन्धित सेवाहरू भने काठमाडौंको कमलपोखरीस्थित गरिमा क्यापिटल लिमिटेडको कार्यालय तथा देशभर रहेका गरिमा विकास बैंकका शाखा कार्यालयहरूबाट समेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
गरिमा सुवर्ण योजनाको अनलाइन दर्ता तथा कारोबार प्रणाली कम्पनीको आधिकारिक अनलाइन प्लेटफर्म तथा गरिमा क्यापिटल र गरिमा क्यापिटलसँग सम्बन्धित वेबसाइटमा उपलब्ध लिंकमार्फत प्रयोग गर्न सकिने जनाइएको छ ।