पछिल्लो समय घरजग्गा कारोबारमा उत्साह देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थितिसम्बन्धी आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासम्मको कारोबारसम्बन्धी प्रतिवेदनअनुसार नेपालमा घरजग्गा कारोबारमा उल्लेख्य सुधार देखिएको हो ।
राष्ट्र बैंकका अनुसार आव २०८२/०८३ मा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा चार दशमलव ७४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा भने घरजग्गा कारोबार संख्या एक दशमलव ८४ प्रतिशतले खुम्चिएको थियो । प्रतिवेदनअनुसार आव २०८२/०८३को चौथो त्रैमासमा घरजग्गा कारोबारमा अझै सुधार देखिएको छ । समीक्षा वर्षको चौथो त्रैमासमा कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ दशमलव २५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा लिखत पारितअन्तर्गतको घरजग्गा कारोबार संख्या १२ दशमलव २८ प्रतिशतले बढेको छ । त्यसैगरी लिखत पारितअन्तर्गतको राजीनामा कारोबार संख्या २२ दशमलव ८८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा राजीनामा कारोबारको वृद्धि आठ दशमलव १५ प्रतिशत मात्र बढेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार आव २०८२/०८३ मा घरजग्गा कारोबारको संख्यासँगै कारोबार भएको कुल क्षेत्रफल समेत बढेको छ । समीक्षा अवधिमा घरजग्गा कारोबार भएको कुल क्षेत्रफल १५ दशमलव ४१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कारोबार क्षेत्रफल दुई दशमलव ९८ प्रतिशतले घटेको थियो । घरजग्गा बजारमा कारोबार संख्या र क्षेत्रफल बढेसँगै कारोबार रकममा समेत ठूलो वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार आव २०८२/०८३ मा घरजग्गा क्षेत्रको कुल कारोबार रकम सात खर्ब २० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार तीन खर्ब ८६ अर्ब १५ करोड रुपैयाँमा सीमित थियो । चौथो त्रैमासमा मात्रै घरजग्गा कारोबारको कारोबार रकम दुई खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार एक खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार घरजग्गा कारोबार बढेसँगै यस्तो कारोबारबाट सरकारी राजस्वमा हुने योगदान पनि बढेको छ । सोअनुसार समीक्षा अवधिमा घरजग्गा कारोबारबाट संकलित राजस्व ४८ दशमलव २६ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो राजस्व वृद्धि २३ दशमलव ४५ प्रतिशत बढेको थियो । यसैगरी घरजग्गा कारोबारबाट संकलित पुँजीगत लाभकर ६३ दशमलव २२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पुँजीगत लाभकर २९ दशमलव ९८ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।
घरजग्गा कारोबारमा आएको सुधारसँगै बैंक तथा वित्तीय संस्थाबाट यस क्षेत्रमा प्रवाह हुने कर्जा समेत बढेको प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा आवासीय घरजग्गा कर्जासहित घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा छ दशमलव ९३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कर्जा वृद्धि पाँच दशमलव ८६ प्रतिशत रहेको थियो ।
बागमती प्रदेशमा ६९ प्रतिशतले बढ्यो कारोबार
राष्ट्र बैंकका अनुसार प्रदेशगत रूपमा हेर्दा आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासमा घरजग्गाको राजीनामा कारोबार संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै अर्थात ६९ दशमलव ३८ प्रतिशतले बढेको छ । यस अवधिमा मधेश प्रदेशमा भने यस्तो कारोबार संख्या तीन दशमलव ४४ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । यीबाहेकका अन्य सबै प्रदेशमा घरजग्गा कारोबार संख्या बढेको राष्ट्र बैंकको भनाइ छ ।
प्रतिवेदनअनुसार कारोबार भएको कुल क्षेत्रफलका आधारमा पनि बागमती प्रदेश अगाडि रहेको छ । समीक्षा अवधिमा बागमतीमा कारोबार क्षेत्रफल ५० दशमलव २४ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा सबैभन्दा बढी छ दशमलव १९ प्रतिशतले घटेको छ । घरजग्गा कारोबारको कुल मूल्य पनि सातवटै प्रदेशमा बढेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार बागमती प्रदेशमा यस्तो मूल्य एक सय ७५ दशमलव ३३ प्रतिशतले बढेको छ । मधेश प्रदेशमा भने सबैभन्दा कम अर्थात् ३१ दशमलव ९८ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौैं महानगरमा सबैभन्दा बढी कारोबार
राष्ट्र बैंकका अनुसार महानगरपालिकास्तरमा हेर्दा घरजग्गा कारोबारको वृद्धि सबैभन्दा उच्च बृछि काठमाडौं महानगरपालिकामा देखिएको छ । आर्थिक वर्ष २०८२/०८३को चौथो त्रैमासमा काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबार संख्या एक सय ५५ दशमलव ७४ प्रतिशतले बढेको छ । सोपश्चात् ललितपुर महानगरपालिकामा एक सय ३६ दशमलव ९२ प्रतिशत, पोखरा महानगरपालिकामा एक सय आठ दशमलव ७१ प्रतिशत, भरतपुर महानगरपालिकामा ६३ दशमलव शुन्य चार प्रतिशत, विराटनगरमा ४७ दशमलव ५९ प्रतिशत र वीरगञ्जमा २९ दशमलव १९ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार सबै महानगरपालिकामा कारोबार भएको कुल क्षेत्रफलसमेत बढेको छ । काठमाडौं महानगरपालिकामा यस्तो वृद्धि दुई सय आठ दशमलव २२ प्रतिशत रहेको छ भने वीरगञ्जमा १३ दशमलव ३१ प्रतिशत रहेको छ । कारोबारको कुल मूल्यतर्फ पनि सबै महानगरपालिकामा बढेको छ । काठमाडौं महानगरपालिकामा यस्तो मूल्य वृद्धि सबैभन्दा उच्च दुई सय १७ दशमलव ४० प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।
उपमहानगरतर्फ धनगढीमा कारोबार संख्या बढ्दा हेटौंडामा क्षेत्रफल बढ्यो
राष्ट्र बैंकका अनुसार उपमहानगरपालिकातर्फ कैलालीबाहेक सबै उपमहानगरपालिकामा घरजग्गा कारोबार संख्या बढेको छ । धनगढी उपमहानगरपालिकामा कारोबार संख्या सबैभन्दा धेरै ६३ दशमलव १६ प्रतिशतले बढेको छ भने कैलालीमा यस्तो कारोबार स्थिर रहेको छ ।
समीक्षा अवधिमा सबै उपमहानगरपालिकामा कारोबार भएको कुल क्षेत्रफल बढेको छ । हेटौंडा उपमहानगरपालिकामा यस्तो वृद्धि सबैभन्दा धेरै एक सय चार दशमलव १६ प्रतिशत पुगेको छ । यसैगरी, ११ वटै उपमहानगरपालिकामा घरजग्गा कारोबारको कुल मूल्य अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । हेटौंडा उपमहानगरपालिकामा यस्तो वृद्धि सबैभन्दा धेरै एक सय ८६ दशमलव ८० प्रतिशत रहेको छ ।