काठमाडौं, नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले जनकपुरमा आफ्नो नयाँ आधिकारिक सोरुम शुभारम्भ गरेको छ । कम्पनीले जनकपुरमा १०औँ शोरुमको शुभारम्भ गर्दै ‘द अल–न्यू प्रोटोन इ–मास ५’ पनि सार्वजनिक गरेको छ ।
नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको इ–मास ५ ले सहरी जीवनशैली तथा दैनिक यात्रालाई थप सहज, स्मार्ट र आधुनिक बनाउने लक्ष्य बोकेको कम्पनीले जनाएको छ । प्रोटोन इ–मास ५ मा अत्याधुनिक प्रविधि, स्मार्ट फिचर र इन्टेलिजेन्ट डिजाइनको उत्कृष्ट संयोजनका रूपमा प्रस्तुत गरिएको छ । इ–मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो जस्ता आधुनिक सुविधा उपलब्ध छन् । त्यसैगरी, ७० लिटरको फ्रन्ट फ्रंक, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस तथा ३२ वटा स्टोरेज कम्पार्टमेन्टले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म आवश्यक व्यावहारिकता र सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ ।
सोरुम उद्घाटन तथा इ–मास ५ सार्वजनिककरण समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, व्यवसायिक साझेदारलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले आधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, व्यावहारिक उपयोगिता र आकर्षक मूल्यको संयोजनले इ–मास ५ यस क्षेत्रका ग्राहकहरूको रोजाइमा पर्ने बताए । भक्तपुरबाट सुरु भएको इ–मास ५ को क्षेत्रीय सार्वजनिककरण अभियान धनगढी हुँदै जनकपुरसम्म आइपुगेको कम्पनीले जनाएको छ । प्रोटोन इ–मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । जनकपुरमा आयोजित क्षेत्रीय सार्वजनिककरणको अवसरमा जगदम्बा मोटर्सले प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य ३२ लाख ९९ हजार तथा प्रिमियम भेरियन्टको विशेष सुरुवाती मूल्य ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ ।