काठमाडौं, नेपाल टेलिकमले भोटेकाशी बाढीले प्रभावित बनाएका थप चार साइटलाई सुचारु गरी टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले सोमबार रसुवाको जिबजिबे र सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजार साइट सुचारु गरेको हो ।
यससँगै बाढीबाट प्रभावित भएका १२० साइटमध्ये ११० साइट सुचारु भएका छन् । जिबजिबे टावरबाट भोर्ले, चिती, गाइसौरा भोर्लेलगायत नौकुण्ड गाउँपालिकाको वडा नम्बर ५ र ६ को विभिन्न स्थानका सेवाग्राही लाभान्वित हुनेछन् ।
त्यसैगरी सरमथली टावरबाट यार्सा, लच्याङ, सिमबन्दी, बिजिली जोङलगायत आसपास क्षेत्रका सेवाग्राही लाभान्वित हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बेनीघाट साइटबाट बेनीघाट बजारलगायत आसपासका क्षेत्र र त्रिशूली साइटबाट त्रिशुली बजार, ढुंगे आसपासका क्षेत्रमा सञ्चार सेवा सहज हुनेछ ।