काठमाडौं, एसिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टर (एपीएनआईसी) र साउथ एसिया नेटवर्क अपरेटर्स ग्रुप (एसएएनओजी)बीच दक्षिण एसियाली क्षेत्रमा प्राविधिक क्षमता अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सामुदायिक सहकार्यलाई प्रोत्साहन गर्ने र इन्टरनेटको विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले सम्झौता भएको हो । समझदारीपत्रमा एपीएनआईसीका डाइरेक्टर जनरल जिया रोङ लो र एसएएनओजीका अध्यक्ष रूपेश श्रेष्ठले हस्ताक्षर गरेका थिए । यो समझदारीले एउटा विश्वव्यापी, खुला, स्थिर र सुरक्षित इन्टरनेटको साझा अवधारणामा आधारित सहकार्यको ढाँचा तयार गरेको छ ।
समझदारीपत्रका सर्तअनुसार, दुवै संस्थाले दक्षिण एसियाभरका नेटवर्क इन्जिनियर तथा अपरेटरहरूका लागि संयुक्त प्राविधिक तालिम र क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्न मिलेर काम गर्नेछन् । यी पहलहरूले क्षेत्रीय नेटवर्क सुरक्षा र सञ्चालन सहजतालाई मजबुत बनाउन आईपीभी ६, रिसोर्स पब्लिक की इन्फ्रास्ट्रक्चर र रुट ओरिजिन भ्यालिडेसनलगायतका महत्वपूर्ण पूर्वाधार प्रविधिहरूको प्रयोगलाई तीव्र बनाउनमा विशेष जोड दिनेछन् ।
यो रणनीतिक सहकार्यले क्षेत्रीय सहभागितालाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । समझदारीअन्तर्गत एसएएनओजीले एपीएनआईसीको नीति निर्माण र सामुदायिक पहलहरूमा स्थानीय सहभागितालाई प्रोत्साहन गर्नेछ भने एपीएनआईसीले एसएएनओजीका कार्यशाला तथा कार्यक्रमहरूको स्तरवृद्धि गर्न दक्ष प्रशिक्षक र वक्ताहरू उपलब्ध गराउनेछ ।