काठमाडौं, निष्क्रिय कर्जाको अनुपात बढ्दा वाणिज्य बैंकहरू दवाबमा देखिएका छन् । बैंकहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ अपरिष्कृत वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकको औसत निष्क्रिय कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेर तीन दशमलव ४१ प्रतिशत पुगेको छ । आव २०८१/०८२ मा यस्तो निष्क्रिय कर्जा औसतमा दुई दशमलव ९८ प्रतिशत रहेको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार एक वर्षको अवधिमा २० मध्ये १३ बैंकको निष्क्रिय कर्जा बढेको छ भने सातवटा बैंकको निष्क्रिय कर्जाका सुधार आएको छ । जसमध्ये प्रभु बैंकको निष्क्रिय कर्जा उच्चरूपमा बढेको छ । बैंकको निष्क्रिय कर्जा आव २०८१/०८२ को एक दशमलव ७६ प्रतिशतबाट बढेर आव २०८२/०८३ मा छ दशमलव २१ प्रतिशत पुगेको छ । अर्थात् एक वर्षमा चार दशमलव ४५ प्रतिशतले निष्क्रिय कर्जा बढेको छ । त्यसैगरी कुमारी बैंकको निष्क्रिय कर्जा पनि शून्य दशमलव ७४ प्रतिशतबाट बढेर एक दशमलव ९४ प्रतिशत पुगेको छ ।
कुमारी बैंकमा एक दशमलव २० प्रतिशत निष्क्रिय कर्जा बढेको छ । सिटिजन्स बैंक इन्टरनेसनलको निष्क्रिय कर्जा पनि चार दशमलव ८९ प्रतिशतबाट बढेर पाँच दशमलव ८८ प्रतिशत, सिद्धार्थ बैंकको दुई दशमलव ६२ प्रतिशतबाट तीन दशमलव ५३ प्रतिशत र लक्ष्मी सनराइज बैंकको चार दशमलव ३५ प्रतिशतबाट पाँच २३ प्रतिशत पुगेको छ ।
प्राइम कमर्सियल बैंकमा पनि निष्क्रिय कर्जा बढेको छ । बैंकको निष्क्रिय कर्जा पाँच दशमलव ८१ प्रतिशतबाट बढेर छ दशमलव ६९ प्रतिशत पुगेको छ । यसैगरी एनएमबी बैंकको चार दशमलव ११ प्रतिशतबाट चार दशमलव ९१ प्रतिशत र कृषि विकास बैंकको तीन दशमलव ४४ प्रतिशतबाट चार दशमलव शून्य सात प्रतिशत पुगेको छ । अपरिष्कृत वित्तीय विवरणअनुसार वाणिज्य बैंकमध्ये हिमालयन बैंकको निष्क्रिय कर्जा सबैभन्दा उच्च सात दशमलव ९६ प्रतिशत रहेको छ । यद्यपि अघिल्लो वर्षको सात दशमलव ९७ प्रतिशतको तुलनामा पछिल्लो अवधिमा थोरै घटेको देखिएको छ । हिमालयन बैंकपछि प्राइम कमर्सियल बैंकको छ दशमलव ६९ प्रतिशत, प्रभु बैंकको छ दशमलव २१ प्रतिशत, सिटिजन्स बैंकको पाँच दशमलव ८८ प्रतिशत र लक्ष्मी सनराइज बैंकको पाँच दशमलव २३ प्रतिशत निष्क्रिय कर्जा रहेको छ ।
यसैगरी एनएमबी बैंकको चार दशमलव ९१ प्रतिशत, नेपाल बैंकको चार दशमलव १८ प्रतिशत, कृषि विकास बैंकको चार दशमलव शून्य सात प्रतिशत, माछापुच्छ्रे बैंकको तीन दशमलव ९८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको तीन दशमलव ९५ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ ।
निष्क्रिय कर्जा घटाउने बैंकमध्ये एनआईसी एसिया बैंक पहिलो स्थानमा परेको छ । अघिल्लो आर्थिक वर्षमा एक दशमलव ९७ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा घटेर आव २०८२/०८३ मा शून्य दशमलव ५७ प्रतिशतमा झरेको छ । त्यसैगरी ग्लोबल आईएमई बैंकको निष्क्रिय कर्जा एक दशमलव २२ प्रतिशतबाट घटेर शून्य दशमलव ५९ प्रतिशत पुगेको छ । नेपाल एसबिआई बैंकको तीन दशमलव ३५ प्रतिशतबाट दुई दशमलव ९२ प्रतिशत र नबिल बैंकको शून्य दशमलव ९५ प्रतिशतबाट शून्य दशमलव ५८ प्रतिशतमा झरेको छ । नेपाल बैंकको निष्क्रिय कर्जा पनि चार दशमलव ५६ प्रतिशतबाट घटेर चार दशमलव १८ प्रतिशत पुगेको छ ।
त्यस्तै सानिमा बैंकको एक दशमलव २० प्रतिशतबाट एक दशमलव शून्य दुई प्रतिशतमा झरेको छ । यसैगरी स्टान्डर्ड चार्टर्ड बैंकमा निष्क्रिय कर्जा एक दशमलव ४१ प्रतिशतबाट दुई दशमलव शून्य तीन प्रतिशत पुगेको छ भने एभरेष्ट बैंकमा शून्य दशमलव ३८ प्रतिशतबाट शून्य दशमलव ४९ प्रतिशत पुगेको छ । माछापुच्छ्रे बैंकमा भने तीन दशमलव ९६ प्रतिशतबाट तीन दशमलव ९८ प्रतिशत पुग्दा निष्क्रिय कर्जा सामान्य रूपमा बढेको छ ।
अपरिष्कृत वित्तीय विवरणअनुसार पछिल्लो अवधिमा एभरेष्ट बैंकको निष्क्रिय कर्जा सबैभन्दा कम शून्य दशमलव ४९ प्रतिशत रहेको छ । त्यसपछि नबिल बैंकको शून्य दशमलव ५८ प्रतिशत, एनआईसी एसिया बैंकको शून्य दशमलव ५७ प्रतिशत र ग्लोबल आईएमई बैंकको शून्य दशमलव ५९ प्रतिशत रहेको छ ।