नेपालका अन्य साना सहरहरूको तुलनामा काठमाडौँ सहरको बसाइ निकै कस्टकर हुने गर्दछ । काठमाडौँलाई अहिले पनि महंगीकै सहर भन्नुमा अत्यक्ति हुँदैन । उदाहरणका लागि दाङको घोराही र घोराही जस्तै अन्य सहरमा पच्चिस रुपियाँमा पाइने कुनै तरकारी काठमाडौँ सहरमा सत्तरीदेखि एकसय रुपियाँसम्म पर्दछ । २०५५।५६ सालको बजेटबाट उल्लेख्य मात्रामा तलब वृद्धि हुनुअघि कर्मचारीहरू काठमाडौँमा कार्यरत हुन नचाहने र घरपायक मिलाएर आफ्नो जिल्लातिर सरुवा गराएर कुदिहाल्थे । काठमाडौँ सहरमा बस्नु भनेको समस्यै समस्याहरूको गुजुल्टोमा अल्झिइरहनु हो भन्नु जायज ठानिन्छ । काठमाडौँ सहर महंगी मात्र नभएर पहिलेदेखि नै बेलाबखतमा केही उपभोग्य वस्तुहरूको अभाव हुने गर्दछ । कहिले चिनी नपाइने त कहिले मट्टीतेललगायतका पेट्रोलियम पदार्थ नपाइने अवस्था आई नै रहन्थ्यो । भारतले नाकाबन्दी गरेपछि नेपालमा मट्टीतेलको संकट परेको थियो । त्यो समयमा हामी जर्किन बोकेर मट्टीतेलको लाइनमा बस्ने क्रममा कहिले घन्टौँसम्म त कहिले दिनभर लाइनमा बस्दथ्यौँ । मट्टीतेलको लाइन कतै सिधा त कतै नागबेली आकारमा देखिन्थ्यो भने कतै घुमाउरो आकारमा । २०४४ पछि काठमाडौँमा फाट्टफुट्ट ग्यासको बिक्री र उपभोग हुनथाल्यो । त्यतिबेला प्रति सिलिन्डर ग्याँस एक सय असी रुपियाँ पर्दथ्यो ।
भुसे चुलोको बाध्यताः
ग्यासको प्रयोग सर्वव्यापी हुनुभन्दा अगाडि काठमाडौँ सहरमा मट्टीतेलमै भर पर्नुपर्ने अवस्था थियो । बेलाबेला हुने मट्टीतेलको अभावका कारण लाइनमा बस्नुभन्दा बरु भुसे चुलो किनेर त्यसैमा खाना बनाउन ठीक होला भनेर भुसे चुलो किनेर काम चलाउने काम पनि गरे कतिपय उपभोक्ताहरूले । काठ गोदाम वा फर्निचर उद्योगबाट भुस र काठकै टुक्राटाक्री किनेर आगो बालेर खाना बनाउँदा उपभोक्ताहरू विशेषगरी गृहिणीहरूले आँखाबाट घरिघरि आँसु झार्नैपर्ने अवस्था थियो । काठमाडौँ एक त महंगी ठाउँ त्यसमाथि पनि समयमा उपभोग्य सामग्री उपलब्ध नहुनु पनि राजधानीबासीहरूका लागि विडम्बनाको कुरा हो । ठूला निजी विद्यालयका कम्पाउन्डमा दर्जनौँ संख्यामा ग्यासका सिलिन्डरहरू देखिन्छन् । सायद होस्टेलमा बस्ने विद्यार्थीहरूलाई भोजन गराउन सहज होओस् भनेर जगेडा गरिएको हुनसक्छ । ग्याँससहितको सिलिन्डरको यस्तो संग्रह अरुअरु संस्थाहरूमा पनि भएका छैनन् भन्न सकिन्न ।
नो क्यास नो ग्यासः
ग्यास अभाव भइरहेको अवस्थामा घरघरमा ग्यास पु¥याउनेहरूलाई चिया खर्च वा खाजा खर्च भनेर केही रकम गोजीमा हालिदिएमा पनि ग्यास पाइने हुन्छ । तर यो कामलाई नैतिक आचरणको काम भनिदैन ।
भुपरिवेष्टित राष्ट्र भएकै कारण नेपालीहरूले उपभोग्य वस्तुको अभावमा बेलाबेलामा हण्डरहरू खानु परिरहेको टडकारो छ । कम से कम नेपालको कतै एक ठाउँ समुद्रले छोएको भए यस्तो अवस्थाहरू आउने थिएन । बलिया छिमेकी दुई मुलुक भारत र चीनमा मात्र निर्भर रहनुपर्ने अवस्था आउदैनथ्यो । तेस्रो राष्ट्रसँग कारोबार गर्न नपाउनु नै हाम्रा लागि दुर्भाग्यको कुरा हो भन्नुमा अन्यथा नहोला । सुन्दर देश भएर के गर्नु ? गौतम बुद्धको देश भनेर के गर्नु ?? अनि सगरमाथाको देश भनेर के गर्नु ??? जब जनताले राहतको महसुस गर्नपाउँदैनन् भने । दुई ढुंगाबीचको तरुल बनेको हाम्रो देश कहिलेसम्म तरुल झैँ कोमल भइरहने ?
काठमाडौँ जाऔँ दुःख पाऔँः
मोफसलबाट काठमाडौँमा पसेपछि मात्र थाहा हुन्छ कि यहाँ कति सास्ती हुन्छ र अनेकन हन्डरहरू खाइन्छ भन्ने कुरा । काठमाडौँ सहरमा कोलकाताका सभ्यताका दश कुराहरू मात्र लागू भएमा पनि काठमाडौँ धेरै सुन्दर र सफा हुनेमा कुनै शंका छैन । कोलकातामा राम्रा पद्दतिहरू छन्, त्यहाँका सार्वजनिक यातायातका साधनहरूमा होस् कि सार्वजनिक स्थलहरूमा नियम कानुनको अक्षरशः पालना गरिन्छ । काठमाडौँ जस्तो गञ्जागोल वा भद्रगोल कोलकातामा देखिँदैन । हुनसक्छ कताकतै अव्यवस्थित स्थानहरू नभएका होइनन् । काठमाडौँमा त पाँच रुपियाँ भाडाका लागि सहचालकले वृद्धहरूमाथि असभ्य शब्द प्रयोग गरेको सुन्दा नमजा लाग्दछ । सहचालक र कोहीकोही यात्रुबीच हातपात वा कुटाकुटका दृश्यहरू पनि देखिन्छन् । संयम र धैर्य नदेखिनु नेपालीहरूको विशेषता भनेर भन्न सकिन्छ, तथापि यो भनाइ सबैमा लागू हुन्छ भन्ने छैन ।
केही दिनअघि एउटा बसभित्र छिर्दा दुईजना तम्सियौँ, तर मैले उहाँलाई बसको ढोकाबाट प्रवेश गर्न अनुरोध गरेँ, उहाँले विनम्र भएर प्लिज प्लिज भन्दै मलाई बसको ढोकाबाट भित्र जान संकेत गर्नुभयो । यस्ता खालका बुझ्ने नागरिक भएपछि देश उहिल्यै उभो लाग्ने थियो । एक सवारी साधनमा अर्कोमा हल्का ठोक्किदा समस्या समाधानका लागि उपायहरू सोचिँदैन र तत्काल आक्रोस पोखेर बदला लिन खोज्दा कसेको ज्यान पनि जानसक्छ र घाइते हुनसक्छन् । अनावश्यक रुपमा अस्पतालको इमर्जेसीमा जानुपर्ने हुन्छ यदि गम्भीर घाइते भएको अवस्था छ भने । काठमाडौँ सहरका फुटपाथहरूमा हिँड्ने कतिपय यात्रुहरू फुटपाथको बीच भागबाट हिँड्नाले हतार भएकाहरूलाई उछिनेर अगाडि बढ्न समस्या हुन्छ । त्यस्तै फुटपाथमा जमात नै बनेर गफ गर्दा पैदलयात्रुलाई अवरोध हुन जान्छ । काठमाडौँको वायुप्रदूषण, ध्वनी प्रदूषण र जलप्रदूषणको त कुरा गरेर साध्य नै छैन । कहिलेकाहिँ काठमाडौँ विश्वमा एक नम्बर प्रदूषित सहर बन्न पुग्दछ भने कहिले दोस्रो र तेस्रो । भारतको दिल्ली र पाकिस्तानको लाहोर पनि प्रदूषणमा अग्रणी हुनेगरेको पाइन्छ । एसियाली मुलुकहरू कति अव्यवस्थित छन् भन्ने कुरा यी आँकडाहरूले देखाउँदछ ।
सहर पसेर सभ्य हुने होइन, गाउँमा रहेर सुरक्षित खानपान गर्नु नै सबैभन्दा सभ्य काम हुन आउँछ । गाउँगाउँमा कृषि पेसा अहिले हेलामा परिसकेको छ । खशीबोका बेचेर वाईफाई जोड्ने र कुखुरा बेचेर रिचार्ज गर्ने परम्परा बसिसकेको छ, खेतबारी बाँझै छन् । बजारमा पाइने असुरक्षित खाद्यवस्ततुका कारण अहिले निजी अस्पतालहरूमा भीडभाड हुने गरेको पाइन्छ । अस्पालमा जाने बिरामीहरूमा धेरैजसो वायुप्रदूषणका कारण बिरामी पर्नेहरू रहेको कुरा एक आँकडाले देखाइसकेको छ । मास्क लगाउन अल्छी गर्ने र फेसनमा बढी जोड दिने गर्नाले पनि मान्छेहरूको फोक्सो र स्वासनली जोखिममा छन् । भुइँको माटोले खासै असर नगर्ला तर गाडीले फ्याँक्ने धुवाँ निकै विषालु हुन्छ भन्ने कुरा विज्ञहरूले बताएकै कुरा हो । कुनै समयमा वातावरण मन्त्रालय अलग्गै थियो, पछि वन मन्त्रालयमा गाभिएपछि वन तथा वातावरण मन्त्रालय बन्नपुग्यो ।
ग्यासको सिलिन्डरमा लेखिएको निर्देशनअनुसार सिलिन्डरको सिल खोलेर सुरक्षित किसिमले प्रयोग गर्नुपर्दछ । कहिलेकाहिँ सिलिन्डरबाट ग्यास चुहावट भएर गन्ध आइरहेको हुन्छ । ग्यास आगोको सम्पर्कमा आउँदा वित्तिकै प्रज्वलित हुन्छ र नसोचेको दुर्घटना हुनसक्छ । धेरै नै ग्यास गन्हाएको छ भने विशेष सतर्कता अपनाउनुपर्दछ र हतपत्त आगो बाल्नुहुँदैन । बिजुली बत्ती बाल्दा स्वीचमा उत्पन्न हुने झिल्काले पनि ग्यास दन्किने हुन्छ, त्यसैले विचार गरेर मात्र भान्सामा बत्ती बाल्नुपर्दछ ।
हावा कुराहरूः
सबैभन्दा मीठो त दाउरामा पकाएको हुन्छ रे, त्यसपछि ग्यासमा पकाएको मीठो रे । सबैभन्दा कम मीठो विद्युतीय उपकरणमा पकाएको रे । कुरो र कुलो जता बगाए पनि हुन्छ भने झैँ एउटाले भनेको कुरा अर्कोले टिपेर अरुलाई भन्दै जाँदा नभएको कुरा अनावश्यक रुपमा फैलिदै जाने गर्दछ र त्यो सही भन्नेतिर लाग्दछन् कोहीकोहीहरू ।
नेपाल आयल निगमले एकातिर बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको भन्दै आनावश्यक ग्यास सिलिन्डर सञ्चय नगर्न आग्रह गर्दछ । त्यस्तै हाल काठमाडौँको औसतभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै केही दिनमा अवस्था सामान्य हुने भनिएको छ । घाटामा गएको वर्ष पनि त्यहाँका कर्मचारीहरूलाई बोनस वितरण गर्ने काम पनि भएकै थियो । जुन विवादमा आइरहने गर्दथ्यो, जनतालाई सास्ती कर्मचारीलाई मस्तीको अवस्थालाई गम्भीर ठान्नुपर्दछ ।
विद्युतीय सवारी साधनहरूलाई प्रोत्साहन दिएमा र इन्डक्सन चुलोमा खाना पकाउने वातावरण सिर्जना गरिएमा आयातीत ग्यासको आशा गर्नुपर्ने अवस्था आउँदैन । दैलेखको दुल्लुमा पेट्रोलियम पदार्थको खानी भेटिएको धेरै वर्ष भयो । सो को अध्ययन अनुसन्धान र उत्खनन बारे जनतालाई जानकारी गराइराख्नुपर्नेमा सो खासै गरेको पाइँदैन । नेपालको खानी तथा भूगर्भ विभाग निकम्मा झैँ देखिएको छ । जनताले आश गर्ने मात्रै हो कि ?
गोकर्णको डम्पिङ साइट र त्यहाँ उत्पन्न ग्यासः
कुनै बखतसम्म काठमाडौँ सहरको फोहोर डम्पिङ साइट गोकर्णमा थियो । त्यहाँ फोहोर थुपार्दा थुपार्दा जमिनबाट ग्यास निस्किएको थाहा पाएपछि मुलपानीका बासिन्दाले त्यहाँबाट पाइपमार्फत घरघरमा ग्यास पुर्याएर इन्धनको रुपमा प्रयोग गरेका समाचारहरू नआएका होइनन् । काठमाडौँ उपत्यकामा बढ्दो जनघनत्वका कारण गोकर्ण डम्पिङ साइट अपुग हुँदै जाने सम्भावना देखिएपछि नुवाकोटको सिसडोलमा फोहोर विसर्जन गरिन्थ्यो । त्यहाँ पनि फोहोर भरिएपछि नुवाकोट–धादिङको सीमामा पर्ने बन्चरेडाँडामा फोहोर विसर्जन गर्नथालियो हो । त्यहाँका बासिन्दाहरूले बेलाबेलामा विभिन्न मागहरू राखेर काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेका फोहोर ढुवानीका सवारी साधनहरूलाई रोक्ने कामहरू बेलाबेलामा हुनेगरेका छन् । प्रदूषणका कारण स्थानीय बासिन्दाका स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै ती गाडीहरूमा अवरोध गर्ने काम हुँदैआएको छ । सक समय टेकूमा फोहोरबाट ग्यास उत्पादनको काम थालिएको थियो ।
धेरै दुःख पाइयो ! मलाई ग्यास चाइयो !!
ग्यासको खाली सिलिन्डर पसलमा दर्ता गराएको एक महिना पुग्न आँट्यो । यता बहालमा बस्नेहरूलाई आपत परेको भनेर भएको ग्याससहितको सिलिन्डर दिइयो माया लागेका कारण । आफ्नो भान्सामा रहेको सिलिन्डरको ग्यास धिमधिप गरिरहेको अवस्था छ, कुन
बेला सकिने हो ठेगान छैन । उता पसलबाट साहुजीले खबर गरेपछि मात्र ग्यास लिन जानुपर्ने रे । दिनहूँजसो ग्यास अभावको समाचार
आइरहेका छन् । के यो सरकारले पनि विगतका सरकारहरूले झैँ जनताको मर्का नबुझेकै हो त ?