काठमाडौं, नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शुक्रबार पदबहाली गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गते बसेको बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
पदबहाली गर्दै कार्यकारी निर्देशक कार्कीले कोषको सुशासन र सेवा प्रवाहलाई अझ प्रभावकारी, चुस्त तथा पारदर्शी बनाउँदै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । कोषले गर्दै आएका कामलाई थप व्यवस्थित र परिणाममुखी बनाउँदै सेवाग्राहीलाई प्रभावकारी सेवा उपलब्ध गराउने उनको भनाइ छ ।
कार्कीले नागरिक लगानी कोषमा रहेको ठूलो आकारको फन्डलाई मुलुकको आर्थिक विकासमा योगदान पुग्ने गरी परिचालन गर्नुपर्नेमा जोड दिए । सरकारका प्राथमिकतामा रहेका परियोजना तथा उत्पादनशील क्षेत्रमा कोषको स्रोत परिचालन गर्न सके त्यसले मुलुकको आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र दीर्घकालीन पुँजी निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने उनले बताए । ’कोषमा रहेको ठूलो फन्डलाई सरकारका प्राथमिकतामा रहेका परियोजना तथा उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्याउन विशेष जिम्मेवारीका साथ काम गर्नुपर्छ,’ कार्कीले पदबहालीका क्रममा भने ।
कार्की यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका व्यक्ति हुन । कोषको कार्यप्रणाली, संरचना तथा चुनौतीबारे आफू जानकार रहेको उल्लेख गर्दै उनले विगतको अनुभवलाई उपयोग गर्दै आगामी दिनमा कोषलाई थप प्रभावकारी र सक्षम संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाए । वित्तीय क्षेत्रको लामो अनुभव हासिल गरेका कार्की नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त व्यक्ति हुन । उनले नेपाल राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामीण विकास बैंक तथा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् ।
कार्कीले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबीएफ) तथा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनले केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायतका विषयमा अन्तर्राष्ट्रिय तालिमसमेत प्राप्त गरेका छन् । नागरिक लगानी कोषले दीर्घकालीन बचत तथा लगानी परिचालन गर्दै मुलुकको पुँजी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । कोषमा संकलित ठूलो परिमाणको रकमलाई सुरक्षित तथा प्रतिफलयुक्त रूपमा व्यवस्थापन गर्नुका साथै उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नु नयाँ नेतृत्वका लागि महत्वपूर्ण चुनौती र अवसरका रूपमा रहेको छ ।
पदबहालीसँगै कार्यकारी निर्देशक कार्कीले सुशासन, पारदर्शिता, प्रभावकारी सेवा प्रवाह र उत्पादनशील क्षेत्रमा लगानी विस्तारलाई प्राथमिकतामा राख्ने संकेत गरेका छन् । उनको वित्तीय क्षेत्रको अनुभव र कोषसँगको पूर्वपरिचयले आगामी दिनमा नागरिक लगानी कोषको भूमिका अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।