काठमाडौं, भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औँ नाडा अटो शोमा जी१ ह्युमनोइड रोबोट र गो२ क्वाड्रपेड रोबोट प्रमुख आकर्षणका रूपमा प्रस्तुत हुने भएका छन् ।
आयोजक संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले एक विज्ञेप्ति जारी गरी जी१ ह्युमनोइड रोबोट र गो२ क्वाड्रपेड रोबोट प्रमुख आकर्षण हुने जनाएको हो । प्रर्दशनीको लागि नेपालमा हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिइसकेको नाडाले जनाएको छ । निजी आयातकर्ता र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा करिब दुई हजार चार्जिङ स्टेसनको सञ्जालसमेत तयार भइसकेको जनाइएको छ । नेपाल भित्रिने विद्युतीय सवारीमध्ये ८० प्रतिशतभन्दा बढी चीनबाट आउने गरेका छन् भने बाँकी भारतबाट आयात हुने गरेका छन् । स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुन लागेको यसपटकको अटो शोमा पहिलोपटक सवारीसाधनसँगै त्यसलाई सञ्चालन गर्ने पूर्वाधार र नीतिगत चुनौतीलाई एउटै प्रदर्शनीस्थलमा प्रत्यक्ष रूपमा प्रस्तुत गर्न लागिएको छ ।
सवारीतर्फ विद्युतीय तथा हाइब्रिड मोडल विभिन्न मूल्य, आकार र प्रयोगका क्षेत्रमा प्रस्तुत हुनेछन् । प्रर्दशनीमा नेपालको विद्युतीय सवारी बजारमा उल्लेख्य उपस्थिति बनाएको बीवाईडी, स्टेलान्टिसको लगानी रहेको लीपमोटर, विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डको स्वामित्वमा रहेको समूहअन्तर्गतको जिली तथा सहरी प्रयोग लक्षित माइक्रो–ईभीसहित एमजी र वुलिङका मोडल प्रदर्शनीमा रहनेछन् । दुईपाङ्ग्रे विद्युतीय सवारीतर्फ कनेक्टेड इलेक्ट्रिक मोटरसाइकल निर्माता रिभोल्ट तथा नेपालमै डिजाइन र एसेम्बल हुने यात्रीको सहभागिता रहने नाडाले जनाएको छ । नाडाले विद्युतीय सवारीको विस्तारको निर्णायक पक्षका रूपमा रहेको चार्जिङ पूर्वाधारलाई समेत प्रदर्शनीले प्राथमिकतामा राखेको छ । आधिकारिक चार्जिङ पार्टनर जीआई चार्जरसहित एक्सिकम, जेभपोइन्ट र एयरचार्जले एसी तथा डीसी चार्जिङ प्रणाली प्रदर्शनीमा रहने जनाइएको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विद्युतीय सवारीको विस्तार र चार्जिङ पूर्वाधारबीच रहेको अन्तरलाई खुला रूपमा सम्बोधन गर्नुपर्ने बताए । विद्युतीय सवारीसँग सम्बन्धित कर प्रणालीमा भएको पछिल्लो परिवर्तनलाई पनि प्रदर्शनीमा छलफल गरिने जनाइएको छ । नेपालमा विद्युतीय सवारीको आयात कर मोटरको किलोवाट क्षमतामा आधारित प्रणालीबाट मूल्यमा आधारित ‘क्लिन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट लेवी’ प्रणालीतर्फ सरेको छ । नयाँ कर व्यवस्थाले आयातकर्ता, उत्पादक, उपभोक्ता र विद्युतीय सवारीको मूल्य संरचनामा पार्न सक्ने प्रभावबारे सरोकारवालाबीच प्रदर्शनीस्थलमै छलफल हुने नाडाको भनाइ छ ।