काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा सुरु भएको ओडीआई शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ । मंगलबार सम्पन्न खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य नामिबियाले ३७.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।
नामिबियाको जितमा जान फ्रायलिंकले अविजित ७७ रन बनाए । ओपनर माइकल भान लिङ्गेनले ५१ रन बनाए भने जान निकोल लफ्टी इटन १७ रनमा अविजित रहे ।नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा १५७ रनमा अलआउट भएको थियो । कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३० रन बनाए ।
रोहित र दीपेन्द्रले चौथो विकेटका लागि ५३ रनको साझेदारी गरे पनि त्यसपछि नेपाली ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । नेदरल्यान्ड्सको पिचमा नेपाली ब्याटरहरू नामिबियाको बलिङसामु संघर्षरत देखिएका थिए ।नामिबियाका जे जे स्मिथले उत्कृष्ट बलिङ गर्दै ९.५ ओभरमा ३६ रन खर्चिएर ६ विकेट लिए । बर्नार्ड स्कोल्ज र ज्याक ब्रासेलले २–२ विकेट लिए ।जितसँगै नामिबिया २९ खेलबाट २४ अंक जोड्दै लिग–२ को अंकतालिकामा छैटौं स्थानमा उक्लिएको छ । नेपालको पनि समान २४ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल नामिबियाभन्दा अगाडि छ । नेपालले अब शृङ्खलाको दोस्रो खेलमा बिहीबार आयोजक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।