काठमाडौंं, धितोपत्र बजारमा कृत्रिम मूल्य वृद्धि गरी विभिन्न कम्पनीहरूको उच्च मूल्यमा सेयर बिक्री गर्ने योजनाबद्ध रणनीति अपनाएर विभिन्न पब्लिक लिमिटेडका कम्पनीलाई हानी÷नोक्सानी पुर्याएको आरोप लागेका ऋषिराज मोरलाई विशेष अदालतले धरौटीमा छोड्न आदेश गरेको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका मोरलाई एक करोड धरौटीमा रिहा गर्न अदालतले बिहीबार आदेश दिएको हो । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिलीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले मोरलाई पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेअनुसार हुनेगरी अहिलेलाई धरौटीमा छोड्न आदेश दिएको हो ।
आदेशमा भनिएको छ, ‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुनेगरी हाल यी प्रतिवादी ऋषिराज मोरबाट एक करोड रुपैयाँ नगद धरौटी वा सोबराबरको बैंक जमानत लिई निज प्रतिवादीलाई तारेखमा राखी प्रस्तुत मुद्दा पुर्पक्ष गर्नू ।’ उनीविरुद्ध मूलतः हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई घाटा लगाएको आरोप थियो । सोसँगै तीन अर्ब ७८ करोड ८२ लाख ७५ हजार छ सय २२ रुपैयाँबराबरको बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो । तर, पुर्पक्षका लागि भएको बहसका क्रममा अदालतमा बयान गर्दा मोरले सबै आरोप अस्वीकार गरेको आदेशमा उल्लेख छ ।