काठमाडौं, प्रभु बैंककी तत्कालीन प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ परेकी छिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार पन्तलाई बुधबार त्रिपुरेश्वर काठमाडौंबाट पक्राउ गरिएको हो ।
उनलाई बैंकिङ कसुरअन्तर्गतको अनुसन्धानका क्रममा पक्राउ गरिएको प्रवक्ता जबराले जानकारी दिए । बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा गत मंसिरमा सीआईबीले तत्कालीन प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेलसहित बैंकका केही उच्च अधिकारीलाई नियन्त्रणमा लिएको थियो । सोही घटनापश्चात् एकाएक सम्पर्कविहीन भएकी पन्तलाई बुधबार काठमाडौंबाट नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ उपरीक्षक जबराले जानकारी दिए । उनीमाथि थप अनुसन्धान गर्नको लागि अदालतलबाट दुई दिनको म्याद थप भएको उनले बताए ।
बैंक स्रोतका अनुसार पक्राउ परेकी पन्त बैंकका तत्कालीन अध्यक्ष देवी प्रकाश भट्टचनसँग नजिक थिइन् । सन् २०१५ मा प्रभु बैंकमा व्यावसायिक योजना अधिकृतको रूपमा कार्य शुभारम्म गरेकी पन्त कार्यप्रारम्भ गरेको छोटो समयमा नै उच्च तहमा पुग्न सफल भएकी व्यक्ति हुन् । कार्य प्रारम्भ गरेको नौ वर्षको अवधिमा उनको १० पटक बढुवा भएको स्रोतले बताएको छ । स्रोतका अनुसार पक्राउ परेकी पन्तमाथि एसियन भिलेज रिसोर्टलाई कर्जा दिँदा अनियमितता गरेको आरोप लागेको छ ।