काठमाडौं, सञ्चालनमा रहेका १४ वटा फाइनान्स कम्पनीमध्ये अधिकांशले आर्थिक वर्ष २०८२/०८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा खुद मुनाफा सुधार गरेका छन् । अपरिष्कृत वित्तीय विवरणअनुसार केही कम्पनीले उल्लेख्य रूपमा नाफा बढाउँदा केही कम्पनी भने अघिल्लो वर्षको तुलनामा कमजोर देखिएका छन् ।
समीक्षा अवधिमा मञ्जुश्री फाइनान्स सबैभन्दा बढी खुद मुनाफा कमाउने फाइनान्स कम्पनी बनेको छ । कम्पनीले आव २०८२÷०८३ मा ३७ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आवको ३१ करोड २७ लाख रुपैयाँको तुलनामा छ करोड ३६ लाख रुपैयाँ बढी हो । यसैगरी पोखरा र आईसीएफसी फाइनान्सले पनि उच्चरुपमा खुद मुनाफा कमाएका छन् । पोखराले आव २०८२÷०८३ मा २५ करोड ४२ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा आईसीएफसीले २६ करोड ४२ लाख २४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा पोखराले १५ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा कमाउँदा आईसीएफसीले ३३ करोड ३० लाख ७९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
गुडविल फाइनान्सले पनि खुद मुनाफा आर्जनमा फड्को मारेको छ । अघिल्लो आवमा ५१ लाख १९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको गुडविलले समीक्षा वर्षमा १४ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । सेन्ट्रल फाइनान्सले पनि अघिल्लो आवमा छ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा कमाएकोमा पछिल्लो आवमा यस्तो नाफा बढाएर १२ करोड ७५ लाख रुपैयाँ पु¥याएको छ । अर्कोतर्फ, नेपाल फाइनान्स समीक्षा अवधिमा छ करोड ९६ लाख रुपैयाँ खुद नोक्सानीमा गएको देखिएको छ । अघिल्लो वर्ष यो फाइनान्सले ३८ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसैगरी रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र आईसीएफसी फाइनान्सको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ । यी फाइनान्सहरूले अघिल्लो आवमा क्रमशः छ करोड ८६ लाख १० हजार, १० करोड १८ लाख २२ हजार, छ करोड ९६ लाख ५३ हजार र ३३ करोड ३० लाख ७९ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए । आव २०८२÷०८३ मा यी फाइनान्स कम्पनीहरूको खुद मुनाफा घटेर क्रमशः पाँच करोड पाँच लाख ८५ हजार, पाँच करोड एक लाख ६९ हजार, चार करोड ६२ लाख १६ हजार र २६ करोड ४२ लाख २४ हजार रुपैयाँमा खुम्चिएको छ ।
विशेषगरी वेष्ट फाइनान्स, गोर्खाज फाइनान्स र जानकी फाइनान्स भने अघिल्लो वर्षको खुद नोक्सानीबाट समीक्षा वर्षमा नाफामा फर्किएका छन् । वेष्ट फाइनान्सले अघिल्लो आवमा १५ करोड ६५ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेकोमा समीक्षा वर्षमा छ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको छ । गोर्खाज फाइनान्स पनि १२ करोड १४ लाख रुपैयाँ खुद नोक्सानीबाट पछिल्लो आवमा दुई करोड १९ लाख रुपैयाँ नाफामा आएको छ भने जानकी फाइनान्स दुई करोड सात लाख रुपैयाँ खुद नोक्सानीबाट ९३ लाख ४३ हजार रुपैयाँ नाफामा फर्किएको छ ।
समग्रमा हेर्दा आव २०८२/०८३ मा फाइनान्स कम्पनीहरूको खुद मुनाफा उल्लेख्यरुपमा बढेको देखिएको छ । सो अनुसार १४ वटा फाइनान्स कम्पनीको खुद नाफा आव २०८१/०८२ मा करिब ८५ करोड ६८ लाख रुपैयाँ रहेकोमा आव २०८२/०८३ मा बढेर करिब एक अर्ब ४३ करोड २१ लाख रुपैयाँ पुगेको देखिन्छ । अर्थात्, समग्र खुद नाफा करिब ५७ करोड ५४ लाख रुपैयाँले बढेको छ । राष्ट्र बैंकका तथ्यांकअनुसार सबै किसिमका गरी १७ वटा फाइनान्स कम्पनीहरू सञ्चालनमा रहेकोमा पछिल्लो समय पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज भएर पोखरा फाइनान्सको नामबाट एकीकृत कारोबार गर्दै आएको र नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स कम्पनी र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी अहिले पनि राष्ट्र बैंकको समस्याग्रस्त फाइनान्सको सूचीमा नै रहेको वित्तीय विवरण सार्वजनिक नगरेको हुँदा फाइनान्स कम्पनीहरूको संख्या १४ वटामा सीमित भएको हो ।