नयाँदिल्ली, भारतको निर्वाचन आयोगविरुद्ध आह्वान गरिएको ठूलो विरोध प्रदर्शनअघि शनिबार व्यङ्ग्यात्मक अनलाइन अभियान ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का प्रमुखसहित तीन नेतालाई प्रहरीले पक्राउ गरेको पार्टीले जनाएको छ।युवाहरूको नेतृत्वमा रहेको सीजेपीले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार, प्रदर्शनमा सहभागी हुन नयाँदिल्ली पुगेका अभिजित दिपकेसहित तीन नेतालाई विमानबाट ओर्लिनेबित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो।
भारतीय निर्वाचन आयोग (ईसीआई) ले देशभर मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता गरेको आरोप लगाउँदै विपक्षी दलहरूले केही सातादेखि सञ्चालन गर्दै आएको अभियानको निरन्तरताका रूपमा प्रदर्शन गर्न लागिएको हो।विपक्षी दल र आलोचकहरूले मतदाता नामावली पुनरावलोकनका कारण लाखौँ मतदाता मताधिकारबाट वञ्चित हुन सक्ने र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सत्तारूढ हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्न सक्ने आरोप लगाएका छन्।
तर, निर्वाचन आयोगले भने ‘विशेष सघन पुनरावलोकन’ प्रक्रियामा अनियमितता भएको आरोप अस्वीकार गर्दै दोहोरो नाम भएका तथा अयोग्य मतदाताको नाम हटाउनु यसको मुख्य उद्देश्य रहेको बताएको छ।विपक्षी आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले विज्ञप्ति जारी गर्दै सरकारको कदमको आलोचना गरेका छन्।
“यो आधिकारिक भयो... हामी मोदीको पूर्ण तानाशाही शासनमा बाँचिरहेका छौँ,” केजरीवालले भने। विमानबाट ओर्लिनेबित्तिकै आन्दोलनकारीलाई पक्राउ गरिनुले सरकारमा अभूतपूर्व स्तरको डर रहेको देखाएको उनको भनाइ थियो।प्रदर्शनकारीलाई राजधानीको मध्यभागमा रहेको मुख्य प्रदर्शनस्थलसम्म पुग्न नदिन शुक्रबारदेखि नै दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। यसका लागि हजारौँ प्रहरी र अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ।
अधिकारीहरूले दर्जनौँ मेट्रो स्टेसन बन्द गर्नुका साथै दिल्ली आउने विभिन्न रेल सेवा रद्द गरेका छन्। प्रदर्शनस्थल आसपासका क्षेत्रमा अस्थायी रूपमा मोबाइल इन्टरनेट सेवा पनि बन्द गरिएको छ।
शनिबार प्रसारित टेलिभिजन दृश्यमा प्रहरीले मध्यदिल्लीका विभिन्न क्षेत्रमा प्रदर्शनकारीलाई लखेट्दै र उनीहरूलाई सवारीसाधनमा राख्दै गरेको देखिएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार हालसम्म २०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ। यी प्रदर्शनलाई गत जुलाईमा सीजेपीले गरेको व्यापक जनपरिचालनको निरन्तरताका रूपमा हेरिएको छ। उक्त आन्दोलन परीक्षासम्बन्धी विवादपछि चर्किएको थियो र त्यसले शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य पारेको थियो।
यसपटक आन्दोलनकारीहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्।