अकल्पनीय मानिएको रसुवा बाढीका कारण यो एउटा नदी प्रवाहबाट कतिको क्षतिभयो भन्ने आँकलनमात्रै पनि अझै हुन सकेको छैन । सामान्यतया भौतिक क्षति जति देखिए, जस्तो बस्ती बगेका, पुल बगेका आदिआदि । योभन्दा बढी मानवीय क्षति कति भयो भन्ने पनि अनुमान बाहिर नै छ । कारण हो देशभरि र अझ संसारभरिबाट कति मानिस आएका थिए र तीमध्ये कति बगे तथा कति भागेर जीवन जोगाउँन सफल भए र कति अझै पुरिएकै अवस्थामा अज्ञात छन् भन्ने आँकलन हुन बाँकी छ ।
भेटिएका शवहरूमध्ये धेरै सानो संख्याको मात्र पहिचान हुन सकेको अवस्थाले पनि यही कुरा बताउँछ । हप्तादिनसम्मको अवस्थाले मानवीय क्षतिको भयावह त देखिन्छ तर क्षतिको विवरण भने अनुमान गर्न सकिएको छैन । हुँदै जाँदा फेला परेका लासहरू राख्ने ठाउँसमेत अभाव भएको अवस्था छ । अस्पतालमा एकातिर आफन्तहरू लासै भए पनि खोजिरहेका छन् भने अर्कातिर तिनै लासहरूले आफन्त पाइरहेका छैन । यति कुराले नै पनि यो विनास कस्तो रहेछ भन्ने बुझ्न सजिलो होला ।
विनासको यो क्षेत्र तीर्थस्थल र जलविद्युत् उत्पानकालागि बढी चर्चित हो । निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङमा हजारदेखि दुई हजारसम्मका कामदारहरू रहेका अनुमान छ । जस्तो माथिल्लो त्रिशूली १, ३ ए, ३ बी, लाङटाङ र चिलिमेलगायत आयोजनाका सुरुङमा परेका मानिसको अनुमानित संख्या हो यो । बुधबार आठ बजे यो घटना भयो । सरदरमा आधाघण्टाका बीच यी सबै विनास भइसकेका हुन् । व्यक्ति पहिचान नभए पनि यहाँभित्र मानिस छन् भन्ने त त्यसैदिन अनुमान भएको हो । तर तिनको उद्धारभने शनिबार रातीमात्रै सुरुभयो । यो बीचमा अर्थात् बुधबार र शनिबारका बीचमा गृहमन्त्री आफैं सुरुङको मुख खोल्न बेल्चा लिएर काम गरिरहेका देखिए । त्यसो गरेको फोटो भाइरल भयो । तर काम भने एकरति अघि बढेन । बढ्ने कुरा पनि थिएन । किनभने गृहमन्त्री यसका विज्ञ होइनन् ।
छिमेकी देशले भने बाढीलगत्तै उद्धारका लागि आफू तयार रहेको भनेर सन्देश दिएको थियो र पछि दोहोर्यायो पनि तर सरकारले त्यस्तो सहयोग आवश्यक नभएको भनेर पन्छाइरहृयो । अन्तिममा पीडित परिवार अक्रोसित भएपछि मात्रै यी दुवैदेशबाट त्यस्तो सहयोग लिन मानियो र शनिबार अपराहृनबाट विज्ञको टोलीले काम थाल्यो । यसको तीन दिनअघि नै गृहमन्त्री सुदन गुरुङले माथिल्लो त्रिशूली ३ ‘ए‘ आयोजनाको सुरुङमा फसेकाको उद्धारमा आफैँ खटेको समाचार सञ्चारमाध्यममा प्रवाह गरे, गराएका थिए । त्यसले पनि विपद्को केन्द्रीय कमाण्ड गर्नुपर्ने गृहमन्त्री प्राविधिकहरूले गर्ने काममा किन अघि सरे र उनको सरकारले विज्ञहरूलाई बोलाउन किन निषेध गर्यो भन्ने प्रश्नले उत्तर पाउन बाँकी छ ।
गृहमन्त्रीको सुरुङ खन्ने काम आफू विपद्को उद्धारमा निकै तदारुकतासाथ लागको भनेर देखाउने उद्देश्यको थियो भन्ने बुझ्न सकिन्छ । जसले यति ठूलो संख्याका मानिसको जीवनमा यति ठूलो खेलवाड हुने थिएन होला । चार दिनअघि गर्नुपर्ने काम चार दिनपछि सुरु गरिँदा जसजसको ज्यान गयो, त्यसको जिम्मा सरकारले लिनुपर्छ । यसमाथि सरकार आफैँले गर्नुपर्ने काम विपक्षी दलले सुझाव दिँदा पनि गरेको पाइएन । अझ सत्तारुढका कतिपय सांसद बाढीले गरेको विनासलाई फोटो खिच्ने अवसरका रुपमा प्रस्तुत भएको देखियो । कतिपयले त्यसका लागि हेलिकप्टर प्रयोग गरेको फोटो आफैंले आफ्नो सञ्जालमा हाले । चार जनाको एउटा समूहमा तीनजनाले कालो चस्मा लगाएका देखियो । सत्तारुढ दलमा कालो चस्मा निकै चर्चामा आएको विषय बनिसकेको छ । यही क्रममा केही सांसदले त आफू पनि बाढीमा बगेको र कसैबाट उद्धार गर्न लगाएको फोटो खिचेकोसमेत देखियो । यो आफैँमा लोकप्रिय हुनेमध्येको एउटा काम ठानियो होला तर के यो ठाउँ र यो बेला त्यस्तो रमिता गर्ने उपयुक्त समय हो ? तिनले उत्तर दिऊन् ।