ललितपुर, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले ललितपुरसहित देशभरका नेवार समुदायको भाषा, कला, संस्कृति तथा सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्ने बताएका छन्।ज्यापू समाज यलले आज आयोजना गरेको समाजको ३३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सभामुख अर्यालले सांस्कृतिक सम्पदा संरक्षण अहिलेको पुस्ताको जिम्मेवारी भएको बताए।
उनले ललितपुरका मठमन्दिर, सांस्कृतिक सम्पदा, परम्परा तथा मौलिक संस्कृतिको संरक्षणमा नेवार समुदायले महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरे।स्थानीय समुदायसँग प्रत्यक्ष संवादबाट प्राप्त विषयलाई कानुन निर्माणको प्रक्रियामा लैजान आफूले पहल गर्ने सभामुख अर्यालले बताए। नेपालको संस्कृति, सम्पदा तथा विभिन्न सामाजिक र राजनीतिक आन्दोलनमा नेवार समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले आगामी पुस्ताका लागि मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिए।