जनकपुरधाम, नेपाल–भारत सीमावर्ती क्षेत्रमा नेपाली मदिराको अवैध तस्करी बढ्दै गएको छ । मूल्य अन्तर र भारतीय बजारमा नेपाली मदिराको उच्च मागका कारण धनुषा जिल्लाका विभिन्न सीमावर्ती नाकाबाट मदिरा तस्करी हुने क्रम तीव्र बनेपछि सुरक्षा निकायले निगरानी कडा बनाएको छ ।
सुरक्षा निकायका अनुसार बिहीबार मात्र सीमावर्ती क्षेत्रमा सञ्चालन गरिएको निगरानी अभियानका क्रममा कुल ३१६.२ लिटर नेपाली मदिरासहित चार भारतीय नागरिक पक्राउ परेका छन् । यसैबीच, भारतको ४८औँ वाहिनी सशस्त्र सीमा बल (एसएसबी) जयनगरअन्तर्गत गंगौर इकाइले बिहीबार बिहान साहरघाट थाना क्षेत्रनजिक विशेष अभियान सञ्चालन गरी ३०० मिलिलिटरका ७५० बोतल अर्थात् २२५ लिटर नेपाली मदिरासहित एक भारतीय युवकलाई पक्राउ गरेको जनाएको छ ।
उक्त मदिरा नेपालबाट अवैध रूपमा भारततर्फ तस्करी गरिएको खुलेको छ । त्यसैगरी, एसएसबीको बाह्य सीमा चौकी (बीओपी) खौनाको टोलीले छुट्टै कारबाहीमा तीन भारतीय महिलाबाट ३०४ बोतल बराबर ९१.२ लिटर नेपाली मदिरा बरामद गरेको छ ।