काठमाडौं । पासपोर्ट छपाइ तथा खरिद प्रक्रियाभित्र भएको अनियमितता र अर्बौँ रुपैयाँको भ्रष्टाचारबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समानान्तर अनुसन्धान गरेको थाहा भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेतृत्वले आनाकानी गरेर शंकास्पद गतिविधि गर्न थालेपछि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को निर्देशनमा उनको सचिवालयले समानान्तर अनुसन्धान गरेको खुलासा भएको हो । सोही समानान्तर अनुसन्धानपछि भाग्ने सम्भावना देखेर सचिवालयको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल केसीलाई असार २ गते नियन्त्रमा लिएर अख्तियारको टोलीलाई जिम्मा लगाएको थियो । सो क्रममा अख्तियार प्रमुख प्रेम कुमार राईको आडमा नेपाल प्रहरीको बर्दीको दुरुपयोग गर्दै अख्तियारमा कार्यरत एसपी मोहन थापाले प्रहरी घेराभित्रै रहेका ठेकेदार सिद्धार्थ थापालाई पक्राउ नै नगरी भगाएको खुलेको छ ।
सोही टोलीले थापा पनि पक्राउ परेको समाचार विभिन्न मिडियामा प्रवाह गरेको भए पनि थापा अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । बिचौलिया थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति तथा राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार पद छाडेर नेपाली कांग्रेसको सिफारिसमा राष्ट्रिय सभाका सदस्य सुनिल बहादुर थापाका छोरा हुन् । उक्त काण्डमा नेपाललाई राहदानी बेच्ने जर्मन कम्पनी म्युहलबाउरका नेपाली एजेन्ट मनिन्द्रराज मल्ललाई पक्राउ गरिएको छ । मल्ल यसअघि अवैध कल बाइपास धन्दामा पक्राउ परेर सजाय पाएका विवादास्पद व्यक्ति हुन् । उनलाई पासपोर्ट छाप्ने जर्मन कम्पनी म्युहलबाउर आईडी सर्भिसको नेपाली एजेन्ट बनाएर सेटिङमा काम गरिएको थियो ।
एमाले–कांग्रेसको संयुक्त सरकारको समयमा एमालेको तर्फबाट जर्मन कम्पनी म्युहलबाउर आईडी सर्भिसका नेपाली एजेन्ट मल्ललाई पासपोर्ट सिस्टम तयार पार्न करोड रुपैयाँको ठेक्का दिइएको थियो भने अर्को जर्मन कम्पनी भेरिडासको नेपाली एजेन्ट सिद्धार्थ थापालाई राहदानी छपाइको लागि छ अर्ब ११ करोड रुपैयाँको ठेक्का दिइएको थियो । असार २ गते प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा सहभागी रहेका थापालाई एसपी थापाले ‘क्यारियर’ दाउमा लगाएर भगाएको चर्चा चलेको छ ।
जेनजी प्रदर्शनपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग एकल वार्ता गर्न पुगेका हालका गृहमन्त्री सुदन गुरुङलाई अपमानित गर्दै राष्ट्रपतिको तर्फबाट आफैँ कुरा गर्न तम्सिएका सुनील थापाले नराम्रोसँग भनाइ खानुपरेको थियो । ‘म तिमीसँग कुरा गर्न आएको होइन, खुरुक्क त्यसलाई बोलाऊ’ भनेर गुरुङ जंगिएपछि राष्ट्रपतिको प्रमुख राजनीतिक सल्लाहकार रहेका थापाले धनकुटाको हिलेमा रहेका गुरुङको अभिभावकसँग कुरा गरेर सम्झाइदिनुप¥यो भनेर फोन थमाउनु परेको थियो ।
त्यही थापा परिवारबाट गृहमन्त्री गुरुङको नियतमाथि शंका उठाउने गरी अहिले उनै सुनील थापाका छोरा सिद्धार्थ थापालाई प्रहरी घेराभित्रबाटै भगाउने गल्ती भएको छ । ठेकेदार मल्ल र लेखा अधिकृत तुलसी प्रसाद अर्यालचाहिँ असार ४ गते पक्राउ परेका हुन् । उक्त पासपोर्ट छपाइ तथा खरिद घोटालामा जोडिएकी तत्कालीन परराष्ट्रमन्त्री आरजू राणालाई बयानको लागि अख्तियारले बल्ल–बल्ल पत्र पठाएको प्रधानमन्त्री शाहको सचिवालयले उक्त काण्डमा छानबिन अघि बढाउन आलटाल गरिएको घटनाको बारेमा आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्रीको सचिवालयमा नै बोलाएर सोधपुछ गरेपछि अख्तियारले आरजूलाई बयानको लागि बोलाएको हो ।
अहिले उनी हङकङ र दिल्ली ओहोरदोहोर गर्दै बसेकी छन् । पासपोर्ट काण्डमा तत्कालीन परराष्ट्रमन्त्री राणाका तर्फबाट मन्त्री आरजूका भाइ भूषण राणा र विवादास्पद व्यापारी अरुण केसीमार्फत धन्दा गर्न दिएको आरोप लाग्दै आएको छ । अख्तियार प्रमुख राईले आफ्ना विश्वासिला पात्र भनिएको नवीन बस्नेतमार्फत उनीहरूसमक्ष सहयोग पुर्याउने गरेको स्रोतको दाबी छ ।
तिनै बस्नेतको मध्यस्तकर्तामा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँगको पोखरा र भैरहवा एयरपोर्टको ठेक्कामा भएको भ्रष्टाचार दबाउन भएको लेनदेनको ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ कार्यान्वयन गर्न अधिकारीले आलटाल गरेपछि अख्तियार प्रमुख राईले मुद्दा हाल्ने धम्की दिएपछि अधिकारीले प्रमुख राईलाई मार्न काभ्रेका प्रकाश पाठकलाई सुपारी दिएको कुरा अहिले अख्तियारमा नै मुद्दा बनेर विचाराधीन अवस्थामा रहेको छ ।
उक्त घुस लेनदेनको भद्र सहमति अङ्क नखुले पनि मुद्दाका रूपमा अदालत पुगेपछि अख्तियार प्रमुख राईको शालीनताभित्र लुकेको बदनियत छरपस्ट भएको थियो र उक्त घटनाले पनि अख्तियार प्रमुख राईले पासपोर्ट काण्ड छानबिन गर्न आलटाल गर्ने आशंका गरेर प्रधानमन्त्री सचिवालयले समानान्तर रूपमा छानबिन गरिएको बुझिएको छ । उक्त पासपोर्ट काण्डमा अख्तियार प्रमुख राईको प्रिय पात्र भनिएका एसपी थापाकै सेटिङमा फरार भएका सिद्धार्थ थापा स्थलमार्ग हुँदै भारत पुगिसकेको र त्यहाँबाट तेस्रो मुलुकतर्फ लागिसकेको आशंका गरिएको छ । जिम्मेवार प्रहरी अधिकारीकै लापरबाही र मिलेमतोमा अभियुक्त फरार भएपछि अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खोजी कार्य तीव्र पारेको छ ।
भ्रष्टाचारको यो जालो परराष्ट्र मन्त्रालयको उच्च नेतृत्वसम्मै पुगेको देखिन्छ । प्रधानमन्त्री कार्यालयले परराष्ट्र सचिव अमृतबहादुर राईलाई समेत पक्राउ गर्न स्पष्ट निर्देशन दिएको थियो । तर, अख्तियारका प्रमुख आयुक्त राई र सचिव राईबीच पारिवारिक नाता (नातेदार) परेका कारण सचिव राईलाई भने जोगाइएको स्रोतको दाबी छ ।
त्यस्तै, राहदानी खरिद प्रक्रियाबाट अस्वाभाविक र अत्यधिक लाभ लिने सुरेशराज घिमिरे र उनकी श्रीमती सन्ध्या घिमिरे पराजुलीलाई समेत अख्तियारले उन्मुक्ति दिएको छ । अख्तियारकै उच्च तहबाट सूचना पाएर घिमिरे पनि विदेश भागिसकेको बुझिएको छ । राहदानीका ठेकेदारसँग अख्तियारको प्रमुख आयुक्त राईको अस्वाभाविक हिमचिम भएको कारण अख्तियारमै परेको उजुरी समेत छानबिनमा नपरेपछि प्रधानमन्त्री कार्यालयले एक्सन लिएको हो ।
अख्तियारले सात अर्बभन्दा बढी रकमको यो खरिद प्रक्रियाको फाइलमाथि विगत एक वर्षदेखि चुपचाप ‘सेटिङ’ मिलाएर मुद्दा तामेलीमा राख्ने प्रपञ्च गरिरहेको थियो । अभियुक्तलाई सूचना दिने र मुद्दा कमजोर बनाउने खेल अख्तियारभित्रै भएपछि प्रधानमन्त्री कार्यालय आफैँ अघि सर्नुपरेको हो । अख्तियारले वास्तविक लाभग्राहीलाई उन्मुक्ति दिएर अनुसन्धान थालिरहेको छ, जसले यो अनुसन्धानलाई निकै प्रभावित पार्ने देखिएको छ । आफ्नो अक्षमता र बदनियत लुकाउन अख्तियारका प्रमुख आयुक्त राईले भने ‘बालेन शाहले आयुक्तलाई नै घेर्न र थुन्न मान्छे पठायो’ भन्दै सस्तो मिडियाबाजी र सहानुभूति बटुल्ने कार्ड खेलिरहेका छन् ।
मंगलबार मध्याह्न १२ बजेदेखि साँझ पौने ८ बजेसम्म प्रधानमन्त्री कार्यालयमा यस विषयमा उच्चस्तरीय छलफल भएको थियो । उक्त बैठकमा राहदानी खरिद ठेक्कामा भएको अनियमिताबारे छानबिनमा भइरहेको ढिलासुस्ती, अख्तियारका पदाधिकारीहरूको शंकास्पद भूमिका र ठेकेदारसँग प्रमुख आयुक्तको अस्वाभाविक सम्बन्धका बारेमा गम्भीर समीक्षा गर्दै अनुसन्धानलाई कुनै पनि दबाबमा नरोक्ने रणनीति तय गरिएको छ ।