विराटनगर । आफूलाई नेपाली कांग्रेसका नेता बताउँदै आएका विराटनगरका विवादास्पद व्यक्ति तथा गुण्डा नाइकेका रूपमा परिचित अभिषेक गिरी पक्राउ परेका छन् । जिल्ला कारागार मोरङमा कैदीबन्दीलाई वितरण गरिएको गर्मी भत्तामध्ये १३ लाख ४० हजार रुपैयाँ रहस्यमय रूपमा गायब भएको घटनामा उनको संलग्नता देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार गिरीमाथि हतियार लुकाएको आशंकासमेत छ र त्यसबारे पनि अनुसन्धान भइरहेको छ । उनी यसअघि ज्यान मार्ने मुद्दामा जन्मकैदको सजाय पाएका व्यक्ति हुन् । करिब नौ वर्ष कारागार जीवन बिताएपछि बाँकी कैद मिनाहा भएर उनी रिहा भएका थिए । कारागार प्रशासनले बुधबार, बिहीबार र शुक्रबार गरी कैदीबन्दीलाई गर्मी भत्ताबापत प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले रकम वितरण गरेको थियो । तर, ‘बी ब्लक’का पाँच सय ३६ कैदीबन्दीलाई वितरण गरिएको कुल १३ लाख ४० हजार रुपैयाँ केही घण्टामै गायब भएको पाइएको हो ।
जिल्ला कारागार मोरङका जेलर राजन घिमिरेका अनुसार कारागारका तीनवटै ब्लकका एक हजार एक सय ८५ कैदीबन्दीलाई भत्ता वितरण गरिएको थियो । जसमध्ये ‘ए ब्लक’का ५३९ जना, ‘बी ब्लक’का ५३६ जना र महिला ब्लकका एक सय १० जना रहेका छन् । ‘बी ब्लक’मा वितरण गरिएको रकम गायब भएको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी युवराज कटेलले शुक्रबार नै अनुगमन गर्न निर्देशन दिएका थिए । अनुगमनका क्रममा अधिकांश कैदीबन्दीसँग वितरण गरिएको पूरा रकम फेला परेन । कतिपयको साथमा पाँच सयदेखि एक हजार रुपैयाँ मात्र भेटिएको थियो ।
सोधपुछका क्रममा कैदीबन्दीहरूले बाँकी रकम लुगा किन्नका लागि घरपरिवार वा आफन्तलाई पठाइसकेको बताएका थिए । तर, घटनाले थप शंका उत्पन्न गरेपछि विस्तृत अनुसन्धान अघि बढाइएको थियो । कारागार स्रोतका अनुसार ‘बी ब्लक’का निमित्त चौकीदार चन्चल बर्मनसँग सोधपुछ गर्दा अभिषेक गिरीको नाम आएको थियो । त्यसपछि प्रहरीले शनिबार बिहान गिरीको घरमा खानतलासी गरेको थियो । प्रारम्भमा हतियार लुकाइएको आशंकामा खोजतलास गरिएको बताइए पनि पछि कैदीबन्दीको भत्ता दुरुपयोगसम्बन्धी सूचनाका आधारमा अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कटेलले कारागारबाटै कैदीबन्दीको भत्ता गायब भएको घटनामा गिरीको संलग्नता देखिएकाले पक्राउ गरिएको र अन्य विषयमा समेत अनुसन्धान भइरहेको बताए । गिरी अपहरण तथा शरीर बन्धक मुद्दामा नौ वर्ष कारागार बसेका व्यक्ति हुन् । कैदका क्रममा उनी लामो समय मोरङ कारागारको चौकीदारसमेत बनेका थिए । उनीमाथि कारागारभित्र कैदीबन्दीमाथि दमन, आर्थिक शोषण तथा कारागार प्रशासनमा बाहिरबाट समेत प्रभाव जमाउने गरेको आरोप लाग्दै आएको छ ।
कारागार प्रशासन स्रोतका अनुसार अनुगमनका क्रममा कैदीबन्दीले बनाएका मुढाको पैसा समेत उनीहरूले नपाएको खुलासा भएको छ । उक्त रकम हिनामिनामा पनि गिरीको नाम जोडिएको बताइएको छ । प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।