काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको मिलेमतोमा बजेट भाषणअघि नै करको दर हेरफेर सूचना चुहाएर बीवाईडी गाडी आयातमा अर्बौँ रुपैयाँको घोटाला गरेको साइमेक्स इन्क प्रालिले गाडी भन्सारमा आउनुअघि नै आफ्नो बैंक खाताबाट करोडौँ रकम निकालेको पाइएको छ । बीवाईडी गाडीको नेपाली विक्रेता यमुना श्रेष्ठले गाडीको भन्सार जाँचपास गराउनुभन्दा दुई दिनअघि नै प्रमु बैंकमा रहेको खाताबाट करोडौँ रुपैयाँ निकालेर लगेको पाइएको हो ।
सो रकम उक्त घोटालामा घुसको रूपमा बाँडिएको हुनसक्ने आशंका गरिएको छ । बजेट भाषणअघि नै करको दर हेरफेरको सूचना चुहाएर साइमेक्स इन्क नामक नेपाली कम्पनीलाई चीनमा निर्मित इलेक्ट्रोनिक गाडी बीवाईडी भित्र्याइएको थियो । तिनको भन्सार जाँचपास गर्न लगाएर गरिएको अर्बौँ रुपैयाँको घोटालामा मुछिएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले त्यो घोटालामा आफूले दुई रुपैयाँ लिएको प्रमाणित गर्न चुनौती दिएका थिए । प्रमाणित भएमा आफूले अर्थमन्त्रीबाट राजीनामा दिएर राजनीति त्याग्ने घोषणा नै गरेपछि उक्त घोटालामा मुछिएको कम्पनी साइमेक्स इन्क प्रालिले बैंकबाट हतारमा करोडौँ रुपैयाँ निकालेको थाहा भएको छ । बजेट भाषण हुनुअघि भएको यस घटनाक्रमलाई शंकास्पद मानिएको छ ।
जेठ १५ गते बजेट भाषण भएको थियो । बजेट भाषण हुने अघिल्लो दिन अर्थात् जेठ १४ गते साइमेक्स इन्क प्रालिले मुस्ताङ भन्सारमा बीवाईडी गाडी आईनपुग्दै सात सय ७५ वटा गाडीको भन्सार जाँचपास गराएको थियो । बजेट भाषणमा भन्सार दर बढे पुरानै दर कायम गर्ने र भन्सार दर घटे नयाँ दर कायम गर्नेगरी भन्सारमा आईनपुगेका बीवाईडी गाडीको भन्सार जाँचपास गराएको थियो । त्यसरी जाँचपास गराएका गाडी जेठ २१ गतेसम्म नेपाल भित्रिएका थिए । बजेट भाषणअघि करको दर हेरफेरको सूचना चुहाएर यसअघिका भ्रष्ट सरकारको पालामा जस्तै गरी ‘भाउजूको भाइ’को विशेषण पाएका अर्थमन्त्री वाग्लेले पनि घोटाला गरेको हुनसक्ने आशंका छ । त्यतिबेला गृह मन्त्रालयको समेत कार्यभार आफैँ सम्हालेका सुशासनको नारा दिएर प्रधानमन्त्री बनेका वालेन्द्र शाहले राति सशस्त्र प्रहरी बलका आईजीपी नारायणदत्त पौडेललाई फोन गरेर ती गाडी नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।
त्यसपछि सशस्त्र प्रहरीले सात सय ७५ वटा बीवाईडी गाडी नियन्त्रणमा लिएको थियो र प्रधानमन्त्री शाहको ठाडो ‘एक्सन’ले अत्तालिएका अर्थमन्त्री वाग्लेले आफू मुछिएको घोटालाको छानबिन गर्न आफ्नै मन्त्रालयअन्तर्गतका दुई सहसचिवलाई छुट्टाछुट्टै रूपमा मुस्ताङ भन्सार र रसुवा भन्सारको घटना छानबिन गर्न लगाएर प्रतिवेदन नै सार्वजनिक नगरी आफूलाई आफैँले ‘क्लिन चिट’ दिएका थिए । साइमेक्स इन्कले एलसी खोलेर चीनबाट ती गाडी मगाएको थियो र गाडी भन्सार नाकामा नआईपुग्दै आवश्यक कागजातसहित बैंक भौचार पेस गरेर ती गाडीको भन्सार जाँचपास गराएको थियो ।
तर त्यस अवधिमा साइमेक्स इन्कले बैंकबाट करोडौँ रुपैयाँ निकालेर कहाँ र किन खर्च ग¥यो होला भन्ने विज्ञ जनमानसमा जिज्ञासा पैदा भएको छ । साइमेक्स इन्कले अर्थमन्त्री वाग्लेसँग मिलेर घोटाला हुनेगरी बीवाईडी गाडी भित्र्याएको आरोप लागिरहेको बेला साइमेक्स इन्कको खाताबाट करोडौँ रुपैयाँ निकालिनुले ‘स्याल कराउनु र बाख्रा हराउनु’ एकैपटक हुन पुगेको छ ।
अर्थमन्त्री वाग्लेले दिएको पूर्वसूचनाकै आधारमा बजेट भाषणको अघिल्लो दिन जेठ १४ गते भन्सारमा गाडी नै नआउँदै गाडीको भन्सार जाँचपास हुनु र गाडी एक साता पछिसम्म बिस्तारै नेपाल भित्रिनु, त्यसरी भित्रिएका बीवाईडी गाडीलाई प्रधानमन्त्री शाहको निर्देशनमा नियन्त्रण गर्नु र एक सातापछि लुसुक्क छाडिनु, अर्थमन्त्री वाग्लले कसैले प्रश्न उठाउन नभ्याउँदै सुटुक्क आफ्नै मन्त्रालयको मातहतका कर्मचारीको संयोजकत्वमा छानबिन समिति बनाउनु, समितिको प्रतिवेदन लुकाएर राख्नु र आफूले आफैँले क्लिन चिट दिनु, विपक्षी दलहरूले संसदीय छानबिन समिति गठनको लागि गरेको मागलाई पूर्ण रूपमा बेवास्ता गर्नु, बजेटपछि बीवाईडी गाडीको मूल्य घट्छ भनी अर्थमन्त्री वाग्लले बारम्बार झुट बोल्नु तर व्यवहारमा बजेट भाषणपछि बजारमा बीवाईडी गाडीको मूल्य वृद्धि हुनु, प्रधानमन्त्री बालेन शाहले गठन गरेको भनिएको छानबिन समितिको भ्रूण पतन हुनुलगायतका कारणले उक्त बीवाईडी घोटालामा अर्थमन्त्री वाग्लेको संलग्नता रहेको आशंका गरिएको हो ।
त्यसमाथि पनि बजेट भाषणमा करको दरको हेरफेर हुने सूचना चुहाएर अर्थमन्त्री वाग्लेले साइमेक्स इन्की यमुना श्रेष्ठसँग साझेदारी गरेको आरोप लागिरहेको बेला साइमेक्स इन्कको प्रभु बैंकमा रहेको खाताबाट जेठ १२ गते अकस्मात ५५ करोड रुपैयाँ निकालिनुले उक्त घोटाला झनै रहस्यमय बन्न पुगेको छ । त्यो रकम कहाँ–कहाँ ट्रान्सफर भयो कहाँ–कहाँ पुग्यो, किन पु¥याइयो भन्ने विषय पनि राष्ट्र बैंकको लागि थप छानबिनको विषय बन्न पुगेको छ । उक्त रकम ‘सर्ट–ट्रम लोन’का रूपमा निकालिएको सम्बद्ध सूत्रले आर्थिक दैनिकलाई जानाकारी दिएको छ ।