काठमाडौं, अविरल वर्षाका कारण पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्ता स्थित नारायणी नदीमा जलसतह बढ्न गई बस्ती डुबानमा परेपछि सशस्त्र प्रहरीले २९ जना नागरिकको सकुशल उद्धार गरेको छ ।
असोज ९ गते परेको अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढेर थारुटोलाका घरहरूमा पानी पसेपछि १० गते बिहान अन्दाजी पौने ९ बजे सशस्त्र प्रहरी बल, नेपाल बीओपी सुस्ताबाट उद्धार टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमान्डमा खटिएको २१ जनाको टोलीले डुबानमा परेका २९ जना स्थानीय बासिन्दाहरूलाई सकुशल उद्धार गरेको हो ।
मानवीय उद्धारका साथै उक्त टोलीले १ वटा गाई र १३ वटा बाख्राहरूको समेत सुरक्षित स्थानमा सारेको छ । उद्धार गरिएका सम्पूर्ण बासिन्दा तथा चौपायाहरूलाई सुस्ता गाउँपालिका–५ सुस्तामा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ । उक्त बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालद्वारा थप उद्धार कार्य निरन्तर जारी राखिएको छ ।