काठमाडौं, डिजिटल वालेट इसेवाले जात्रा पर्वलाई सुरक्षित र उत्साहपूर्ण रूपमा मनाउन ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक गरेको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा ल्याइएको यो बीमा योजना मात्र १० रुपैयाँमा उपलब्ध हुनेछ । असोज १३ गतेसम्म लागू हुने यस योजनाले जात्रा मनाउने क्रममा हुन सक्ने आकस्मिक दुर्घटनाबाट उत्पन्न आर्थिक जोखिम न्यूनीकरण गर्न सहयोग गर्नेछ ।
बीमा योजनाअन्तर्गत कुल २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा प्रदान गरिनेछ, जसमा दुर्घटना बीमाअन्तर्गत २ लाख २० हजार रुपैयाँ र अस्पताल खर्च सहायताअन्तर्गत १० हजार रुपैयाँको सुविधा उपलब्ध हुनेछ । जात्रा पर्व उत्साह, उमंग र सांस्कृतिक परम्परासँग जोडिएको भएपनि भीडभाड तथा आवतजावतका क्रममा विभिन्न आकस्मिक दुर्घटनाको जोखिम रहन सक्छ । यस्ता जोखिमबाट हुन सक्ने आर्थिक भारलाई केही हदसम्म कम गर्न ‘जात्रा केयर’ बीमा योजना उपयोगी हुने इसेवाले जनाएको छ ।
यो बीमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सकिनेछ । इसेवाले जात्रा पर्वलाई सुरक्षित, मर्यादित र उल्लासमय रूपमा मनाउन सबैलाई सचेत रहन आग्रह गर्दै ‘जात्रा केयर’ बीमा योजनाको लाभ लिन अनुरोध गरेको छ ।