काठमाडौं, मोरङ उद्योग व्यापार संघले मोरङ–सुनसरी औद्योगिक करिडोरमा विशेष आर्थिक क्षेत्र स्थापना गर्न सरकारसंग माग गरेको छ । संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहलाई भेटी उक्त माग गरेको हो ।
संघले उद्योग–व्यवसाय क्षेत्रका समस्या र समाधानका उपाय समेटिएको सुझाव पत्र समेत प्रस्तुत गरेको छ । शुक्रबार विराटनगर भ्रमणका क्रममा मन्त्री साहसँग भएको भेटमा संघका अध्यक्ष अनिल कुमार साह नेतृत्वको टोलीले सुझाव पत्र बुझाएको हो । भेटमा मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग–व्यवसाय क्षेत्रका व्यावहारिक समस्या तथा नीतिगत सुधारका विषयमा छलफल भएको संघले जनाएको छ ।
संघले उद्योगी–व्यवसायीको उधारो असुलीका लागि द्रुत न्यायाधीकरण गठन, खाद्यान्न तथा कच्चा पदार्थ आयातमा लगाइएको प्रतिबन्ध फुकुवा, बैंकिङ बिदा कटौती, सार्वजनिक खरिद ऐनमा लचकता र राजस्व न्यायाधिकरणमा निष्पक्षता कायम गर्न माग गरेको छ । त्यस्तै, भारततर्फ हुने निर्यातका लागि भारतीय गुणस्तरसम्बन्धी बीआईएस लाइसेन्स प्राप्तिमा देखिएको कठिनाइ हटाउन कूटनीतिक पहल गर्न, विराटनगर एकीकृत जाँच चौकी (आईसीपी) को सेवा शुल्क घटाउन, मोरङ–सुनसरी औद्योगिक करिडोरमा विशेष आर्थिक क्षेत्र स्थापना गर्न तथा विराटनगर रिङरोडको निर्माण सम्पन्न गर्न संघले आग्रह गरेको छ ।
सीमावर्ती बजारबाट हुने अवैध कारोबार तथा चोरी पैठारी नियन्त्रणका लागि भन्सार महसुल दर परिमार्जन गर्नुपर्ने माग पनि संघले अघि सारेको छ । संघले बहुदरको मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्न, स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ आयातमा १ देखि ५ प्रतिशतसम्म मात्र भन्सार महसुल कायम गर्न तथा निर्यातमा मूल्य अभिवृद्धिका आधारमा ५ देखि ८ प्रतिशतसम्म अनुदान उपलब्ध गराउन सुझाव दिएको छ ।
यस्तै, निर्यातकर्ता कर्पोरेटलाई २५ प्रतिशत आयकर छुटको व्यवस्था पुनः कायम गर्न, ‘एक नागरिक एक प्यान’ नीति लागू गर्न, कृषि सामग्री तथा दैनिक उपभोग्य वस्तुमा भ्याट र अन्तःशुल्क खारेज गर्न तथा कार्गो भेइकल फी (सीभीएफ) खारेज गर्न संघले माग गरेको छ । सुझाव पत्र बुझ्दै मन्त्री साहले संघले उठाएका विषय वस्तुनिष्ठ र समयसापेक्ष रहेको बताएका छन् । मोरङ–सुनसरी औद्योगिक करिडोरको पुनरुत्थान तथा निजी क्षेत्रको मनोबल उच्च बनाउन संघका सुझावलाई मन्त्रालयले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता उनले व्यक्त गरेको संघले जनाएको छ ।
अध्यक्ष साहको नेतृत्वमा गएको टोलीमा संघका निवर्तमान अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल सारडा, वाणिज्य उपाध्यक्ष विकास कुमार बेगवानी, उद्योग उपाध्यक्ष संजय कुमार श्रेष्ठ, महासचिव अमित कुमार सारदा र प्रमुख कार्यकारी अधिकृत भरत शर्मा प्रसाईलगायत सहभागी थिए ।