बैंकक, थाइल्याण्डको राजधानी बैंककमा अविरल वर्षापछि आएको बाढीले शनिबार जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीका कारण यातायात सेवा प्रभावित भएको छ भने सयौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
परिस्थितिको गम्भीरतालाई मध्यनजर गर्दै अधिकारीहरूले सहरका सबै जिल्ला बाढी विपद्ग्रस्त क्षेत्र घोषणा गरेका छन् । थाइल्याण्डको मौसम विज्ञान विभागले बिहीबारदेखि सुरु भएको भारी वर्षा आइतबारसम्म देशका अधिकांश क्षेत्रमा जारी रहने चेतावनी दिएको छ ।अधिकारीका अनुसार बिहीबारयता बैंककका धेरै क्षेत्रमा ३० सेन्टिमिटरभन्दा बढी वर्षा भएको छ । बाढीको पानी विशेषगरी सहरका मध्य र पूर्वी क्षेत्रमा फैलिँदा सडकहरू डुबानमा परेका छन् र यातायात सेवा अवरुद्ध भएको छ ।
बैंककका सबै क्षेत्र डुबानमा नपरे पनि उद्धार, राहत तथा अन्य आपतकालीन कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न सहरका सबै ५० जिल्लालाई बाढी विपद्ग्रस्त क्षेत्र घोषणा गरिएको अधिकारीहरूले बताएका छन् । शनिबारसम्म देशभरका २१ वटा प्रान्तमा ८४ हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका छन् । तीमध्ये मध्य क्षेत्रका बासिन्दा सबैभन्दा बढी प्रभावित छन् । सरकारले मोबाइल फोनमार्फत आपतकालीन चेतावनी सन्देशसमेत पठाएको जनाएको छ ।
दक्षिण कोरियाका पर्यटक ह्वाङ ह्वान–चुङले आफूले दर्जनौँ पटक बैंकक भ्रमण गरे पनि यस्तो असामान्य वर्षा र बाढी पहिलोपटक देखेको बताए । उनले बाढीका कारण ट्याक्सीसमेत पाउन नसकेको गुनासो गरे । स्थानीय बासिन्दा सुकन्या तोङसुकले अहिलेको अवस्था सन् २०११ मा बैंककमा आएको विनाशकारी बाढीसँग मिल्दोजुल्दो रहेको बताए ।
यसैबीच, दुई वर्षदेखि बैंककमा बस्दै आएका डच नागरिक ब्योर्न फ्रान्केनले बाढीका कारण आफू सहभागी हुन लागेको एउटा कार्यक्रम रद्द भए पनि अन्य व्यवस्थापन गर्न सफल भएको बताए । बाढीका कारण शनिबार बैंककका धेरै व्यवसाय बन्द रहे । सहरका धेरै सडकमा पानी जमेकाले सवारीसाधन निकै सुस्त गतिमा चलेका थिए भने कतिपय मोटरसाइकल चालकले आफ्ना सवारी धकेल्दै यात्रा गरेका देखिन्थे । अधिकारीहरूले बैंककबाट पूर्वी प्रान्ततर्फ सञ्चालन हुने केही क्षेत्रीय बस सेवा स्थगित गरिएको बताएका छन् ।
राजधानीको व्यस्त सडकमध्ये एक पेट्चाबुरी रोड बाढीका कारण लगभग सुनसान बनेको थियो । सडकमा जमेको पानीका कारण धेरै सवारीसाधनलाई बीच बाटोबाटै फर्काइएको थियो भने केही सवारी आंशिक रूपमा डुबेका थिए ।
धमिलो पानीमा हिँड्दै स्थानीय बासिन्दाहरूले खानेपानी र खाद्यान्न ओसारपसार गरिरहेका देखिन्थे । केही खाली खुट्टा थिए भने केहीले अग्ला रबरका बुट वा खुट्टा भिज्न नदिन प्लास्टिकका झोला प्रयोग गरेका थिए । हवाई ट्राफिक नियन्त्रण अधिकारीहरूले उडान सेवा सामान्य रहेको जनाउँदै प्रतिकूल मौसमका कारण केही उडानमा भने ढिलाइ हुन सक्ने बताएका छन् ।
बैंककका गभर्नर चाडचार्ट सिट्टीपुन्टले वर्षा रोकिएसँगै बाढीको पानीको सतह घट्ने अपेक्षा गरिएको बताए । उनका अनुसार सहरभरि २०० भन्दा बढी अस्थायी आश्रयस्थल स्थापना गरिएको छ । एपी